बर्खायाममा कस्तो खानेकुरा खाने ?

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १३ : ०८
बर्खायाममा कस्तो खानेकुरा खाने ?

काठमाडौं ।मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि सानो छैन । स्वास्थ्य यसको अर्को जोखिमपूर्ण पाटो हो । हरेक वर्षायाममा अनेक रोग र महामारी फैलिएको सुन्नमा आउँछ । अस्पतालमा बिरामीको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या पनि त्यतिकै बढेको विभिन्न तथ्यांकले देखाउँछन् । 

वर्षायाममा जताततै पानी नै पानी हुन्छ, किटाणुको प्रश्रय स्थल । जसले डेंगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा र पखालालगायत रोग निम्त्याउँछ । खानेपानी प्रदूषित हुन्छ । र, पानी स्वस्थ नभए आधा भन्दा बढी रोग लाग्ने गर्छन् । वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमता स्वात्तै घटाउने गर्छ । त्यसैले रोगले सजिलै डेरा जमाउँछन् । त्यसैले खानपिन र जीवनशैलीमा थप ध्यान दिनुपर्छ । वर्षा याममा रोगबाट बच्न र आफ्ना परिवारलाई बचाउन यी कुरा अपनाउनुस् । 

१) आँप, स्याउ, अनार, अम्बा, नासपाती पोषणका भण्डार हुन् । तर, पखालेर मात्र खाने गर्नुपर्छ । आँप धेरै खाँदा पखाला, मासी पर्ने हुँदा विचार गर्नुपर्छ  । अंगुरबाट टाढै रहेको राम्रो । अंगुरको बाहिरी भाग पाचन गर्न शरीरले गाह्रो मान्ने गर्छ । खरबुजा पनि वर्षायाममा खासै राम्रो मानिँदैन । 

२) तरकारीले भोजनको महत्वपूर्ण भाग समेट्ने गर्छ । शरीरलाई चाहिने पोषण पूरा गर्ने काममा तरकारीको भूमिका महत्वपूर्ण हुन्छ । सधैभर धेरै तरकारी खान पर्छ भनेर सिकाइने गरिन्छ, तर वर्षायाममा ध्यान नपुराइ खाँदा उल्टो हानी गर्न सक्छ । प्रायः सबै तरकारी खाँदा राम्रो हुन्छ, तर काउली, भिन्डी र केराउजस्ता तरकारी चाहीँ कम खानुपर्छ । टमाटरको पनि कम खानु राम्रो भएको चिकित्सक बताउँछन् । वर्षायाममा सकेसम्म कम मसालेदार खाना स्वास्थ्यवद्र्धक मानिन्छ । बढी मसला खाँदा शरीरको तापक्रम र रक्तसंचार दुवै बढ्ने हुँदा ध्यान पुर्‍याउनु पर्छ । बढी नुनिलो खाँदा शरीरको पानी सुक्ने हुँदा नुन घटाउने । तरकारी एकदम राम्रोसँग पखाल्ने, धेरै नपकाउने र पाकेको केही समयमै खाँदा बढी भन्दा बढी फाइदा लिन सकिन्छ । तरकारी किन्दा पनि सकेसम्म ताजा किन्नुपर्छ ।  

३) मासु पाचन गर्न शरीरलाई अलि धेरै समय लाग्ने भएकोले वर्षायाममा मासुको खपत पनि कम गर्नु पर्छ । शरीरको पाचन क्षमता स्वाट्टै घटेको बेला शरीरलाई थप भार नदिन माछा मासुको कम गर्नुपर्छ । 

४) हल्का तेल जस्तै भटमासको तेल, सूर्यमुखीको तेल प्रयोग गर्नुपर्छ । तोरीको तेल फाइदाजनक भए पनि यो सिजनमा संक्रमण भित्र्याउने प्रमुख कारकमा पर्छ । 

५) वर्षायाममा हर्बल चिया सकेसम्म धेरै पिउनु पर्छ । यसमा एन्टी ब्याकेटेरयिल गुण धेरै हुने गर्छ । अदुवा, मरिच, पुदिना, मह जस्ता चिज प्राकृतिक एन्टी बायोटिक हुन् । यस्ता चिज चियामा मात्र हैन, तरकारी, अचारमा धेरै भन्दा धेरै मिसाए शरीर संक्रमणको खतराबाट बच्न सक्छ । 

६) वर्षायाममा सफा पानी एकदम धेरै पिउनुपर्छ । उमालेको या त राम्रोसँग फिल्टर गरेको पानीबाहेक अरु पानी पिउनु हुँदैन । बाहिर हिँड्दा पनि झोलामा आफैँ  पानी बोक्ने बानी गर्नुपर्छ । 

७) सकेसम्म बाटामा राखेका खानेकुरा जस्तै चटपटे, पानीपुरी, समोसा, पकोडा, मम खानुहुँदैन । मनसुनमा जहाँतही किटाणु हुने भएकोले बजारिया खानेकुरा कम गर्नुपर्छ । 

८) व्यायाम गरेर पसिना एकदम निकाल्नुपर्छ । अल्छी गरेर नबस्ने । जति स्फुर्त भयो शरीर त्यतिकै तन्दुरुस्त र स्वस्थ हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस