अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १९ : ०६
अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन् । शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन् ।

उनले अब एकजना मान्छे पनि पैसा नभएको कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने बताए । उनले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताए ।

मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताए । उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे । द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ ।

उनले भने, ‘हामीभित्र भएका बुद्धि, सीप, साधनलाई सक्रिय बनाएर अब नेपालमा प्रधानमन्त्रीज्यु, हजुरकै पालामा अब एकजना मान्छेपनि पैसा नभएको कारणले हस्पिटलको बरण्डाबाट आत्महत्या गर्नुपर्दैन । बाटामा मर्नुपर्दैन । घरमा मर्नुपर्दैन । हामी जसरी पनि गर्छौं र अहिले गरिरहेका छौँ । स्वास्थ्य मन्त्रालय मन्त्रालय भन्दापनि एउटा ठूलो अस्पतालजस्तो भइराखेको छ । दिनमै १२÷१५ जना बिरामी आइरहन्छन् । म प्रधानमन्त्रीज्युलाई निवेदन गर्न चाहन्छु, द्वन्द्वका बेलामा घाइते भएकाहरुको अझैपनि उपचार आइसकेको छैन । हामीले केही मान्छेहरुलाई बोलाएर गरिरहेका छौँ । यसले चाँडोभन्दा चाँडो निर्णय गरेर हामीलाई जिम्मा लगाइदिनुस् । हामी गर्छौं । समस्या समाधान गर्ने र राज्यले घोषणा गरेको वा संविधानमा व्यवस्था गरेको जनताको आधारभुत स्वास्थ्य सेवालाई हामी जसरी पनि व्यवस्थापन गर्छौं । फेरि दोहो¥याउन चाहेँ । कोही नेपाली पैसा नभएको कारणले अब उपचार गर्न नपाएर मर्दैन । त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिन्छ ।’

मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताए । उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताए । अस्पतालहरुले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरु दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताए ।

प्रतिक्रिया दिनुहोस