सन नेपाल लाइफले साउन ३२ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्ने

सफल खबर संवाददाता

विहीबार, २५ साउन २०८०, ११ : ५५
सन नेपाल लाइफले साउन ३२ गतेदेखि प्रिमियममा आइपीओ जारी गर्ने

काठमाडौ। सन नेपाल लाइफ इन्सुरेन्सले साउन ३२ गते देखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ बिक्री खुला गर्ने भएको छ ।यस इन्सुरेन्सले आफ्नो जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३०५ ले हुन आउने ९६ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्न लागेको हो । यसले प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँ दरमा ९६ लाख कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गर्नेछ ।

यसमध्ये १०% अर्थात् ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ४ लाख ८० हजार कित्ता सेयर कर्मचारी र ५% (४ लाख ८० हजार कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ७६ लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले यसमा भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।