गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना होईन : बाबुराम भट्टराई

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, ११ : २८
गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना होईन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका छन् । ट्वीट गर्दै उनले भनेका छन्, ‘शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’

बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ ।

यस सहमतिप्रति लक्षित गर्दै डा.भट्टराईले लेखेका छन्, ‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न ।’

गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए । ‘स्मरण रहोस् यो विभत्स हत्याकाण्ड कुनै राज्यविरूद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासंग जोडिएको घटना हैन । यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृसंश हत्याकाण्ड थियो’ डा.भट्टराईले उल्लेख गरेका छन् ।

सरकारले १७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा उनको आशंका छ । ‘तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ?’ डा.भट्टराइको प्रश्न छ ।

यसको जवाफ भविष्यले बताउने पनि उनले उल्लेख गरेका छन् । उनी अगाडि लेख्छन्, ‘सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् । सत्य र न्यायको जीत एक दिन अवस्य हुनेछ ।’

 

प्रतिक्रिया दिनुहोस