भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच सहयोग आदानप्रदानको सहमति

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १९ : ०३
भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच सहयोग आदानप्रदानको सहमति

सिगात्से  । भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम रहेको चीनको सिगात्से शहरबीच सहयोग आदानप्रदानको सहमति भएको छ ।सिगात्सेका प्रमुख वाङ्ग फङ हुङ र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच दुई सहरबीच एक आपसमा सहयोग आदन–प्रदान गर्ने सहमति भएको हो । सहमतिमा दुई सहरका जनताको बीचमा सुमधुर सम्बन्ध कायम गर्दै अगाडि बढ्ने जनाइएको छ ।

तिब्बत प्रान्तको दोस्रो ठूलोे हिमाली सहर सिगात्सेको निमन्त्रणामा सिगात्से पुगेको भरतपुर महानगरपालिकाको प्रतिनिधि मण्डल बीच प्रविधि आदान–प्रदान कृषि र पर्यटनको क्षेत्रमा सँगसँगै अगाडि बढ्दै भगिनी सम्बन्धलाई जनस्तरसम्म बिस्तार गर्नुपर्नेमा दुवै सहरका मेयर सहमत छन् ।

सो अवसरमा भरतपुरकी मेयर दाहालले सिगात्से सिटीको न्यानो माया र आतिथ्यताप्रति खुसी व्यक्त गर्दै भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय दिएकी थिइन् । कार्यक्रममा दाहालले भरतपुर महानगरपालिका पूर्वाधार विकासका साथै कृषि, पर्यटन र स्वास्थ्य सेवाको क्षेत्रमा अगाडि बढिरहेको बताउँदै सिगात्से सरकार र यहॉका व्यवसायीहरूलाई नेपालको भरतपुरमा लगानी गर्न आग्रह गरिन् । उनले सिगात्सेको चौतर्फी विकास लोभलाग्दो रहेको भन्दै मेयर हुङ्गलाई धन्यवाद दिदै अर्काे पटक सिगात्से आउँदा सिगात्सेको समग्र विकास हेर्ने आशा रहेको भन्दै सिगात्से सिटीका नागरिकको मन जितेर अगाडि बढ्न शुभकामना व्यक्त गरिन् ।

सो अवसरमा मेयर दाहालले सन् २०२४ लाई भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको रूपमा विशेष कार्यक्रम गरी मनाउन लागेको भन्दै भरतपुर भ्रमण वर्षमा सहभागी हुन मेयर वाङ्ग र सिगात्सेवासीलाई निमन्त्रणा गरेकी थिइन् । सो अवसरमा सिगात्से सिटीका प्रमुख वाड्गले प्रमुख दाहालसहित भरतपुरको प्रतिनिधि मण्डललाई सिगात्सेमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताउँदै भरतपुर र सिगात्से सहरको सम्बन्धलाई जनस्तरमा देखिने गरी स्वागत गर्न आफूहरू सधै तयार रहेको बताए । उनले कोभिड–१९ को महामारीको समयमा पनि भरतपुरका नागरिकहरूको जीवन रक्षाका लागि स्वास्थ्य सामाग्री प्रधान गरेर सानै भए पनि सहयोग पु¥याएको स्मरण गरे ।

सो अवसरमा प्रमुख वाङ्गले नेपाल र तिब्वत क्षेत्रसँग व्यवस्थित सडक र रेल सञ्जालमार्फत जोडेर दुई देशले लाभ लिने गरी चीन सरकारले आयोजना अगाडि बढाउन पहल गरिरको बताउँदै त्यसका लागि नेपाल सरकारको ध्यानआकर्षण गरिदिन मेयर दाहालमार्फत आग्रह गरे । सिगात्सेको पशुपालन व्यवसाय प्रवर्दनका लागि भरतपुरले साईलेज उद्योग सञ्चालन गर्न सहयोग पु¥याएर ठूलो सहयोग गरेको भरतपुरको घॉस अहिले सिगात्सेको कृषि फार्मका याक चौरी भेडालगायतका लागि पौष्टिक आहारको रूपमा खपत भइरहेको बताए । चीन नेपालको असल छिमेकी भएको स्मरण गर्दै प्रमुख वाङ्गले सिगात्से सरकार भरतपुरमा आधुनिक प्रणालीमा कृषि क्षेत्रमा लगानी गर्न ईच्छुक रहेको बताउँदै सन २०२४ मा हुने भरतपुर भ्रमण वर्षलाई सफल पार्न सक्दो सहयोग गर्ने बताउँदै समय मिलाएर आफू भरतपुरको भ्रमण गर्ने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले भरतपुर र सिगात्से बीच कायम रहेको भगिनी सम्बन्धलाई दुई पक्षीय भ्रमणका माध्यमबाट अझ प्रगाढ बनाउदै लैजानु पर्ने बताए । भ्रमणमा प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले सिगात्से सहरको भ्रमणले दुई सहर बीचको पारस्परिक विश्वासमा थप टेवा पु¥याएको भन्दै न्यानो आतिथ्यताका लागि सिगात्से सरकार र सिगात्से सिटीका नागरिकप्रति धन्यवाद व्यक्त गरेका थिए ।

महानगरपालिका प्रमुख दाहालको नेतृत्व रहेको ८ सदस्यीय प्रतिनिधि मण्डलले सिगात्से सहरका ऐतिहासिक एवम् पुरातात्विक महत्वका क्षेत्रको अवलोकन, सडक सञ्जाल हरियाली प्रवद्र्धनका साथै औद्योगिक क्षेत्र र भरतपुरको साइलेज घाँसमार्फत पशुपालन गरिएको ऐभरेष्ट ऐग्रो फार्मको अवलोकन गरेको भ्रमणमा सहभागी भरतपुर महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए । भ्रमण टोलीले तिब्बत प्रान्त अन्तर्गतका सरकार प्रमुहरूसँग उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस