बाँदर आतंक : गाउँ नै छाडेर जाँदै स्थानीय

सफल खबर संवाददाता

सोमबार, १५ साउन २०८०, ०६ : ५९
बाँदर आतंक : गाउँ नै छाडेर जाँदै स्थानीय

काठमाडौ । भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ ।

बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जंगल आसपासका बस्तीका किसान समस्या परेका हुन् । 

मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर  अन्नबाली नष्ट पारेपछि उनीहरू हैरान भएका छन् । बाँदरको कारण जिल्लाका अधिकांश भूभागका स्थानीयले समस्या भोग्दै आएका छन् । धेरै समस्या हुने ठाउँमा वैकल्पिक बाली लगाउँदा समेत दुःख दिने स्थानीयको भनाइ छ । बाँदरले बास्तिम, दलगाउँ, मानेभञ्ज्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम, धोद्लेखानी लगायत ठाउँमा बढी मात्रामा दुःख दिने गरेको छ ।

बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयको भनाइ छ ।

बाँदर नियन्त्रणको लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई गाउँपालिका–४ दलगाउँका स्थानीय तीर्थबहादुर प्रधानले बताए । बाँदरको आतंक यसरी नै बढ्दै जाने हो भने अबको ८/१० वर्षमा धेरै बस्ती खाली हुने उनको भनाइ छ ।

‘बाँदर नियन्त्रणमा सरकारले उचित विकल्प ल्याउन आवश्यक छ,’ स्थानीय प्रधानले भने, ‘बाँदरको समस्या धेरै नै छ । कहिले बाँदर नपुगेका ठाउँमा समेत बाँदरले अन्नबाली खाएको अवस्था छ । नियन्त्रणमा ध्यान नदिने हो भने धेरै बस्ती खाली हुने अवस्था छ ।’

बाँदरले अन्नबाली उत्पादनमा बाधा गरेपछि धेरै मानिसले आफ्नो खेतबारी बाँझो छाडेका छन् । ‘बाँदरको उपद्रो बढ्दो छ,’ उनले भने, ‘१ घण्टा मात्र बालीमा पस्न पायो भने वर्षभरि खाने अन्न छिनभरमै खाइदिन्छ । बाँदर नियन्त्रण गर्न नसकेपछि खेतबारी बाँझो छाडेर किनेर खानुपर्ने अवस्था छ ।  गाउँबस्ती नै आतंकित बनेको छ ।’

प्रतिक्रिया दिनुहोस