काठमाडौ । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यस वर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ ।
वन तथा वातावरण मन्त्रालयले दिवसको मुख्य कार्यक्रम अन्तर्गत ललितपुरको जावलाखेलस्थित चिडियाखानामा विशेष कार्यक्रम मनाउँदैछ । यसैगरी नेपाल टेलिकमका टेलिफोन सेवामा दिवसका दिन बाघ संरक्षणका लागि सचेतनासम्बन्धी ‘रिङटोन’ बज्ने व्यवस्था गरिएको मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
दिवसकै अवसरमा बाघसम्बन्धी १० वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए । कार्ययोजनामा बाघको संख्या वृद्धि भएसँगै थपिएको व्यवस्थापनको चुनौती र बढ्दो मानव–बाघ द्वन्द्वलाई व्यवस्थापन गर्ने सम्बन्धी मुख्य विषय रहेको उनले बताए ।
पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।
पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
संकल्प दोब्बर, वृद्धि झण्डै तेब्बर
सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ । नेपालले सम्मेलनमा बाघको संख्या दोब्बर बनाउन गरेको प्रतिबद्धताभन्दा बढी संख्याले बाघ बढाउन सफल भएको छ ।
गणनाअनुसार सबैभन्दा धेरै बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बाघ थिए । बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ पाइएको विभागको तथ्यांक छ ।
नेपालले विक्रम संवत् २०६७ सालदेखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणना समेत गर्दै आएको छ । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको विभागको तथ्यांक छ । सन् २०१८ मा गरिएको गणनाअनुसार बाघको संख्या बढेर २३५ पुगेको थियो ।
नेपालबाहेक भारत, चीन, भुटान, रुस, बंगलादेश, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड र लाओसमा पाटे बाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म १ लाखको हाराहारीमा बाघको संख्या रहेको अनुमान थियो । त्यो संख्या सन् २०१० मा घटेर ३ हजार २०० मा सीमित भएको थियो । त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको संख्या बढेर २०१६ मा ३ हजार ९०० र सन् २०२२ मा ४ हजार ५०० पुगेको विश्व वन्यजन्तु कोषको तथ्यांक छ ।
सन् २०१६ को तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी भारतमा २ हजार २२६ र सबैभन्दा कम लाओसमा २ वटा बाघ थिए । बाघको आक्रमणबाट नेपालमा ५ वर्षमा ५८ को मृत्यु
नेपालमा बाघको संख्या बढेसँगै यिनको व्यवस्थापन, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण, बासस्थान सुधारलगायत अन्य विविध विषय चुनौती बनेका छन् । मध्यवर्ती क्षेत्रका मानिसहरू घाँस दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेका छन् ।
उनीहरूलाई जंगल नजाने वातावरण बनाउन सरकारले वैकल्पिक जीविकोपार्जनको उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि गर्दै आएको छ ।
हात्ती, बाघ, गैंडा, चितुवा, भालु, जंगली कुकुर लगायतका वन्यजन्तुको आक्रमणबाट पछिल्लो ५ वर्षमा २०० मानिसको मृत्यु भएको तथ्यांक छ । क्षतिपूर्तिबापत सरकारले ६० करोडभन्दा बढी रकम व्यहोरिसकेको छ । वन्यजन्तुले मानिसलाई घाइते बनाउने, बालीनाली, घर, गोठको क्षतिलगायत घट्ना बढ्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, ०७ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घाइते बाघ देखिएपछि सामुदायिक वनमा प्रवेश निषेध
शुक्लाफाँटामा बाघ बढे
बाघको आक्रमणबाट एक बालिका घाइते
पर्साको ग्रामीण भेगमा आतङ्क मचाउने बाघ नियन्त्रणमा
देशभरका खोरमा १९ समस्याग्रस्त बाघ, ‘टाइगर जु’ बनाउन विज्ञको सुझाव
मोटरसाइकलबाटै बाघले लछारेपछि …