जनमत पार्टीको मिसन ८४ : मधेश प्रदेशमा प्रशिक्षण सुरु

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, १३ : २८
जनमत पार्टीको मिसन ८४ : मधेश प्रदेशमा प्रशिक्षण सुरु

महोत्तरी । जनमत पार्टीले मिसन ८४ अन्तर्गत आज मधेश प्रदेशमा प्रशिक्षण सुरु गरेको छ । महोत्तरीको बर्दिवासमा मधेश प्रदेशका पार्टी सम्बद्ध नेता, कार्यकर्ता, सांसद, स्थानीय तहका प्रतिनिधिलगायतलाई पार्टीले प्रशिक्षण दिइरहेको सो पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए । 

उनले भने, ‘हाम्रो पार्टीले मिसन ८४ सुरु गरेको छ, त्यसअन्तरर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ, त्यसमध्ये आज मधेश प्रदेशमा प्रशिक्षण तथा बैठक चलिरहेको छ।’संसदमा अंक गणितको निकै महत्व हुने भएको र आफ्नो शक्ति लिएर संसदमा गई जनताको अधिकार दिलाउन मिसन ८४ सुरु गरिएको उनले बताए ।

अगामी चुनावमा जनमत पार्टीले पुनः एक्लै चुनावमा भाग लिने उनको भनाइ छ । प्रदेशदेखि प्रतिनिधिसभासम्म आफ्नो बहुमत उपस्थित देखाउने गरी अभियान सुरु गरिएको उनले बताए ।त्यसका लागि जनमत पार्टीले बुथदेखि माथिल्लो निकायसम्म विभिन्न कार्यक्रमको तयारी गरिरहेको यादवले बताए । सोही अन्तर्गत पहिलो चरणमा प्रशिक्षण र बैठकहरु भइरहेको उनले बताए । यो कार्यक्रम सम्पन्न भएपछि पुनः अर्को चरणको कार्यक्रमको योजना बनाएर अगाडि बढ्ने यादवको भनाइ छ । 

सो पार्टीले साउन ५ गते जिल्ला इन्चार्ज र पूर्व जिल्ला इन्चार्जको बैठक तथा प्रशिक्षण सम्पन्न गरेको छ भने वडा तहको प्रशिक्षण पनि सम्पन्न गरिसकेको छ । साउन ७ गतेदेखि ९ गतेसम्म धुलिखेलमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रशिक्षण सम्पन्न गरेको उक्त पार्टीको आज मधेश प्रदेश समितिको बैठक चलिरहेको छ ।

सो पार्टीले साउन १७ गते राष्ट्रिय परिषद्को बैठक बोलाएको छ भने साउन १८ गते केन्द्रीय समितिको बैठक तथा साउन १९ गतेका लागि स्थानीय जनप्रतिनिधिहरुको बैठक बोलाएको छ । साउन २७ गतेका लागि स्थानीय तहको जनप्रतिनिधिका बारेमा जनमत संग्रह गराउने तथा साउन ३० गतेका लागि नेपाल आइ संघको बैठक बोलाइएको प्रवक्ता यादवले जानकारी दिए  ।

भदौं २ गते प्रदेशसभा सदस्यहरुको बारेमा जनमत संग्रह गर्ने कार्यक्रम राखिएको यादवले जानकारी गराए ।