चितवन बारमा पीएलए र डीएलएबीच कडा टक्कर

सूर्यप्रकाश कँडेल

विहीबार, २४ साउन २०७५, १७ : ५६
चितवन बारमा पीएलए र डीएलएबीच कडा टक्कर

चितवन । जिल्ला अदालत बार एसोसिएसनको भोलि साउन २५ गते हुने २०औँ अधिवेशनमा दुईवर्षे नयाँ नेतृत्वका लागि पेसागत तथा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीएलए) र डेमोक्र्याटिक लयर्स एसोसिएसन (डीएलए) बीच कडा टक्कर हुने देखिएको छ ।
अध्यक्ष पदमा पीएलएबाट कमलराज पाठक र डीएलएबाट नीलकण्ठ अधिकारीको उम्मेदवारी परेको छ । पाठकको नेतृत्वमा पीएलए प्यानल र अधिकारीको नेतृत्वमा डीएलए प्यानल चुनावी मैदानमा उत्रिएको छ । दुबै प्यानलका अध्यक्षले जित आफूहरुकै हुने दाबी गरेका छन् । चितवनका पुराना कानुन व्यवसायीहरु भने अहिलेको बारको चुनावमा पनि विगतमाजस्तै पीएलएले नै अध्यक्षसहित कार्यसमितिको बहुमत सिट हासिल गर्ने बताउँछन् ।
शुक्रबार बिहान आठ बजेबाट दिउँसो चार बजेसम्म नयाँ नेतृत्वका लागि मतदान हुने चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष गोपीलाल देवकोटाले जानकारी दिए । निर्वाचनअघिको मौन अवधि सुरु भइसकेकोले बिहीबार दिनभर भरतपुरका विभिन्न ल फर्ममा गोप्य छलफल र प्यानलको आन्तरिक छलफलमा दुबै प्यानलका कानुन व्यवसायी व्यस्त देखिन्थे ।
२०५० सालमा बीएल गरेका पाठकले २०५२ सालमा चितवन जिल्ला बारको सदस्यता लिएका हुन् । २०५७ साल र २०६२ सालमा चितवन बारको कार्यसमिति सदस्य भएका पाठक २०५९ र २०६४ सालमा दुईपटक केन्द्रीय पार्षद भए ।
पाठकका प्रतिद्वन्द्वी अधिकारीले २०५३ सालमा बीएल सकेपछि २०५६ सालमा चितवन जिल्ला बारको सदस्य भए । उनी २०५८ सालदेखि २०६२ सालसम्म डीएलएको जिल्ला अध्यक्षसमेत भएका थिए । २०६१ सालमा चितवन बारको सदस्यता लिएका अधिकारी त्यही साल जिल्ला बारको सहसचिव भए । २०६५ मा सचिव भएका अधिकारी २०६९ सालमा अध्यक्षमा पराजित भए । अहिले उनी दोस्रो पटक अध्यक्ष पदमा चुनावी मैदानमा उत्रेका छन् ।
पीएलएले उपाध्यक्षमा हरिबहादुर मैनाली, सचिवमा धर्मेन्द्र थापा, कोषाध्यक्षमा सूर्यबहादुर बोहोरा, सहसचिवमा सरिता सापकोटालाई उम्मेदवार बनाएको छ । डीएलएले उपाध्यक्षमा हीरादत्त तिवारी, सचिवमा धर्म वाग्ले, कोषाध्यक्षमा बलराम पौडेल, सहसचिवमा गोमा न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस