उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ : चन्द्र भण्डारी

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १५ : ४७
उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्छ : चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडी बढ्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरू र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् । 

भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए । उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे ।

उनले केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए।भण्डारीले टिम नै बनाएर अगाडि बढ्न पनि आग्रह गरे । टिम बनाएर अगाडि बढेमा युवाहरुलाई स्वागत गर्न समयले पर्खिरहेको उनको भनाई छ । 

प्रतिक्रिया दिनुहोस