जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १० : २५
जग्गा अतिक्रमण गर्ने तीनजना नियन्त्रणमा

सिरहा । वन कार्यालय सिरहाको टोलीले गोलबजार नगरपालिका–१० स्थित सामुदायिक वन अतिक्रमण गर्ने तीनजनालाई नियन्त्रणमा लिएको छ । टोलीले स्थानीय कुमार तामाङ, उनकी श्रीमती मालती लामा र कासिन्द्र सदालाई बिहीबार नियन्त्रणमा लिएको हो ।

सामुदायिक वनको जग्गा खनजोत गरिरहेको अवस्थामा ट्याक्टरसहित तीनैजनालाई सब डिभिजन वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो । गोलबजार–१०, धोबियाधारस्थित चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रको जग्गा अतिक्रमण गरी खनजोत गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको सहायक वन अधिकृत सत्यनारायण यादवले जानकारी दिए ।

पक्राउ परेका तीनैजनाविरुद्ध वन ऐनअन्तर्गत सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सिरहाका प्रमुख शैलेन्द्रकुमार मिश्राले जानकारी दिए ।

सो वन क्षेत्रमा गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले करिब ३० हेक्टर जग्गामा तारबारसहित वृक्षरोपण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस