बाँकेमा ट्राफिक प्रहरीद्वारा दुई करोड ६२ लाख राजस्व संकलन

रासस

शुक्रबार, ०५ साउन २०८०, ०८ : ४३
बाँकेमा ट्राफिक प्रहरीद्वारा दुई करोड ६२ लाख राजस्व संकलन

File pic

जानकि । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा रु दुई करोड ६२ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार ८३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारका अनुसार ट्राफिक प्रहरीले चालकका लागि चेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । “जरिबाना मात्रै गर्दैनौँ, चालकबाट नियम उल्लंघन नहोस् भनेर चेतनामूलक अभियानसमेत सञ्चालन गर्दै आएका छौँ”, उनले भने । गत आवमा कार्यालयले ७७३ वटा सचेतना कक्षा सञ्चालन गरेको थियो । कक्षामा ३४ हजारभन्दा बढी सवारीचालक, यात्रु र विद्यार्थी सहभागी भएको प्रहरी निरीक्षक सुनारले बताउए ।  

आव २०७९/८० मा जिल्लामा १२४ सवारीसाधन दुर्घटनामा परेका थिए । दुर्घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक सय २९ जना घाइते भएका थिए । सडक दुर्घटनामा परी १० पशुचौपायासमेत मरेका प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आवमा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने दुई हजार ८५५ चालकलाई कारबाही गरेको थियो । उनीहरुबाट रु २८ लाख ५५ हजार राजस्व संकलन  गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस