भरतपुर महानगरमा जनप्रतिनिधिको एक वर्ष : के के भए काम ? (विवरणसहित)

सूर्यप्रकाश कँडेल

सोमबार, २१ साउन २०७५, १८ : ३६
भरतपुर महानगरमा जनप्रतिनिधिको एक वर्ष : के के भए काम ? (विवरणसहित)

चितवन । ठीक एक वर्षपहिले भरतपुर महानगरपालिका प्रमुखको पदभार ग्रहण गरेपछि रेनु दाहालले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला तथा वृद्धहरूलाई ओपीडी टिकट निःशुल्क गराउने भनी पहिलो निर्णय गर्नुभयो । त्यो निर्णय यस वर्ष पनि कायम गरिएको छ ।

प्रमुख र उपप्रमुख महिला भएको नेपालकै एकमात्र महानगरपालिकामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा भरतपुर महानगरले प्राथमिकताका आधा दर्जन क्षेत्रमा विकासका काम अगाडि बढाएको छ । ‘महानगरपालिकाको बृहद गुरुयोजना निर्माण गरी एकीकृत विकास गर्न विभिन्न क्षेत्रका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुसँग विभिन्न चरणमा छलफल तथा अन्तक्रिया सम्पन्न गरी महानगरीय गुरुयोजना निर्माणको काम सुरु गरेका छौँ’ महानगर प्रमुख रेनु दाहाल भन्नुहुन्छ, ‘बजारमा अव्यवस्थित अवस्थामा रहेको सवारी पार्किङ्गको व्यवस्थापन गर्न पुलचोक, शहीदचोक र लायन्सचोकमा साथै ट्रक पार्किङ्गको लागि न्यूरोडमा पार्किङ्ग क्षेत्रको व्यवस्था गरिएको छ ।’

महानगर प्रमुख दाहालले सडकपेटीमा व्यवसाय गरिरहेकालाई निरूत्साहित गर्दै बालकुमारी कन्या माध्यमिक विद्यालयको जग्गामा व्यवस्थापन गरिएको, सडकबत्ती जडान र व्यवस्थापन गरिएको, एक घर एक बिरुवा कार्यक्रम अभियानकै रूपमा अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले महानगरभित्र रहेको सार्वजनिक र पर्ती जग्गाहरु खोजबीन गरी संरक्षण गर्ने नीति लिइएको, एक वडा एक पार्क र एक वडा एक पोखरी निर्माणको नीतिलाई अगाडि बढाइएको बताउनु भयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी सवारी दुर्घटनाको कारकका रुपमा मुख्य राजमार्गमा समस्या बनेका तीनपाङ्ग्रे सवारी साधनको व्यवस्थापन, बजार र राजमार्गको मुख्य २० स्थानमा ट्राफिक आइल्याण्ड निर्माण गरिएको, महिलासँग मेयर, समस्यामा रहेका बालबालिका र बृद्धबृद्धासँग मेयर लगायतका कार्यक्रमहरु संचालन भइरहेको बताउनु हुन्छ ।

प्राथमिकताका आधा दर्जन क्षेत्र
भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेका आधा दर्जन क्षेत्रमध्ये पूर्वाधार विकास पहिलो नम्बरमा रहेको छ । पूर्वाधारतर्फ ९५ कि.मी. रिङ्गरोड र लिंकरोड कामको सुरुवात गरी यसै आर्थिक वर्षबाट १० कि.मी. रिङ्गरोड र ६५ कि.मी. लिंकरोड निर्माण कार्य सुरु भइसकेको छ । रिंगरोड र लिंकरोडका अन्य स्थानमा ईआइए र  डीपीआर तयार हुँदैछ ।

महानगरका अनुसार, निर्माणाधीन रिङ्गरोड २४ मिटरदेखि ३० मीटर चौडाईको हुनेछ, जसमा ७ मीटर र छ मीटरको दुई लेन, बीचमा, डिभाईडर दुबैतर्फ हरियाली सहितको फुटपाथ र एकपट्टी साइकल ट्रयाक समेत रहने छ । गत आर्थिक वर्षमा महानगर जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ५० कि.मी. बाटो कालोपत्रे भएको महानगर कार्यालयले जनाएको छ ।

महानगरपालिकाका वडा कार्यालयहरु व्यवस्थित गर्न वडा कार्यालय निर्माणको काम अगाडि बढाइएको छ । २ वटा निर्माण वडा कार्यालयको निर्माण कार्य सम्पन्न भैसकेको छ भने अन्य ५ वटा वडा कार्यालय निर्माणको प्रकियामा छन् । महानगरले ठूला पूर्वाधारहरु निर्माणहरुमा विशेष जोड दिएको छ । अत्याधुनिक सुविधा सम्पन्न सिटी हल निर्माणको काम अन्तिम प्रक्रियामा छ, जसको लागत करिब एक अर्बको हुनेछ । सरकार, संघ, प्रदेश, महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको तयारी गरिहेको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालयसँगको समन्वयमा देवाघाटमा अत्याधुनिक शवदाह गृह निर्माणको चरणमा रहेको छ । महानगरभित्र ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउनको लागि २ ठाउँमा आकाशेपुल र ट्राफिक लाईट व्यवस्था गर्ने कार्य अगाडि बढिरहेको महानगरले जनाएको छ ।
नारायणगढको लायन्सचोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बुहतल्ले व्यावसायिक भवन निर्माणको काम यसै वर्षदेखि अगाडि बढाउने तयारी भैरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।

‘पुलचोकदेखि हाकिमचोकसम्म हरियालीसहितको फुटपाथ र सर्भिस ट्रयाक यसै आर्थिक वर्षमा सुरु गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको छ’ उहाँले भन्नुभयो, ‘फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आँपटारीमा रहेको महानगरपालिकाको जमिनमा फोहोरबाट उर्जा उत्पादन गर्ने कार्यक्रम छिट्टै सुरु गर्ने लक्ष्य महानगरपालिकाले लिएको छ ।’

सुशासनतर्फ महानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानुनहरु निर्माण गरी प्रमाणीकरण गरिसकेको महानगर प्रमुख दाहालले बताउनु भयो । ‘वडा कार्यालयहरुलाई प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई व्यवस्थित र पारदर्र्शी बनाउन सबै वडा कार्यालयहरुमा विद्युतीय नेटवर्किङ्गको काम अगाडि बढिरहेको छ’ उहाँले भन्नुभयो, ‘नगरबासीहरुको जनगुनासो सुन्नका लागि टोल फ्री नम्बर र हेल्प डेस्कको स्थापना गरिएको छ ।’

उहाँका अनुसार, स्वास्थ्यतर्फ चितवनलाई मेडिकल सिटीको रुपमा अगाडि बढाउने संघीय सरकारले परिकल्पना गरे अनुसार भरतपुरका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिएको छ । भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्ने र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्न प्रक्रिया अगाडि बढाइएको दाहालले बताउनु भयो । महानगरभित्र रहेका स्वास्थ्य संस्थाहरुको नियमन र अनुगमनको काम प्रभावकारी रुपमा अगाडि बढाइएको उहाँले दाबी गर्नुभयो ।

महानगरले शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउनका लागि आवश्यक नीति निर्माण र नियमन गरिँदै लगेको साथै विशेष छात्रवृत्ति कार्यक्रमहरु अगाडि बढाएको छ । कृषि क्षेत्रलाई आधुनिकीरण गरी उत्पादकत्व गर्न विषेश कार्यक्रमहरु संचालन गरिएको, महानगरभित्र रहेका दुग्ध उत्पादक किसानहरुलाई प्रतिलिटर २५ पैसाका दरले प्रोत्साहन स्वरुप नगद अनुदानको व्यवस्था गरिएका, तरकारी फलफुल, माछा, खाद्यान्न उत्पादनमा लागेको किसानलाई औजार, सिँचाई लगायतमा अनुदानको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

पर्यटन विकासतर्फ महानगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरुको पहिचान गरी ती ठाँउहरुमा पूर्वाधार निर्माणको लागि प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ । पटिहानीमा अम्रेला भ्यू टावर निर्माणको चरणमा रहेको गोलाघाट र चौकी डाँडामा भ्यू टावर निर्माणको प्रक्रियामा रहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।

धार्मिक पर्यटनको रुपमा देवघाटलाई विकास गर्ने र पर्यापर्यटकको केन्द्र जगतपुर, मेघैलीलाई बनाउने महागनरले लक्ष्य राखेको उहाँको भनाइ छ । महानगरले ठूला तारे होटलहरु महानगरपालिकाभित्र सञ्चालन गर्न चाहनेलाई विशेष सहुलियत दिने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस