कालीकोटको तिलागुफामा अज्ञात रोग, एउटै गाउँका ३ सय जना बिरामी

सफल खबर संवाददाता

शनिबार, २३ असार २०८०, १३ : २३
कालीकोटको तिलागुफामा अज्ञात रोग, एउटै गाउँका ३ सय जना बिरामी

कालीकोट। कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् ।अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रवार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । 

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, घाँटीमा टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ । “गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौं”, उनले भने । नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको मतले बताए । 

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा. टङ्कप्रसाद आचार्यले जानकारी दिए । “शुक्रवार एक सय ९४ महिला र एक सय १७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौं”, उनले भने, “उपचार गर्न आउने दुई सय छ जना १५ वर्षमुनिका छन् ।” सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा. आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस