कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १२ : ५०
कांग्रेस जिल्ला सभापतिहरूको बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजेबाट बैठक सुरु भएको हो । पार्टी महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री भिष्मराज आङ्दम्बे, केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, केन्द्रीय सदस्य नैनसिंह महर र जिल्ला सभापतिहरूबीच छलफल भइरहेको छ ।

 

कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन पत्राचार गरिएको थियो  ।

 

यस्तै वडा तहदेखि जिल्ला सम्मेलन भए नभएको विवरण र योजना विषयसहित करिब ६० जिल्ला सभापति छलफलमा उपस्थित भएका छन् । जिल्ला सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित भएका छन् भने भौतिक रूपमा सहभागिता जनाउन नसकेका जिल्लाका सभापतिलाई जुममार्फत अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था पनि गरिएको छ ।

 

दुई दिन सञ्चालन हुने बैठकमा पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे छलफल हुने महामन्त्री गगन थापाले बताए । उनका अनुसार जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि तीन वटा एजेण्डामाथि छलफल हुने छ ।

 

क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरण, विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलन र पार्टी सञ्चालन तथा व्यवस्थापन लगायतका अन्य विविध साङ्गठनिक विषयमाथि छलफल हुने महामन्त्री थापाले बताए

प्रतिक्रिया दिनुहोस