व्युटीपार्लरबाट स्वाबलम्वी बनेकी एकल महिला

सुमन गैरे

आइतबार, २० साउन २०७५, १६ : १८
व्युटीपार्लरबाट स्वाबलम्वी बनेकी एकल महिला

भरतपुर । सिर्जना सोती एकल महिला हुन् । विगत १३ वर्षदेखि एकल महिलाको रुपमा व्युटिपार्लर व्यवसायलाई अँगालेर स्वावलम्वी जीवनयापन गर्दै आएकी सिर्जना अहिले सफल व्युटिसियन पनि भएकी छन् ।

गैँडाकोट नगरपालिका वडा नं. ५ ओमशान्ति चोकस्थित माइतीघरमा आमाबाबुको आश्रयमा रहेकी सोती चितवन व्युटिपार्लर युनिटीकी अध्यक्ष हुन् । उनले माइतीघरमा विगत १७ वर्षदेखि सञ्चालन गरेको स्वस्तिक व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर अहिले नारायणगढको हङ्कङ बजारमा सञ्चालन गरेकी छन् ।

उनले चितवन व्युटिपार्लर युनिटीमार्फत् विभिन्न तहका व्युटिसियन सम्बन्धी तालिम पनि सञ्चालन गरेकी छन् । सो युनिटीबाट १ सय ३० जनालाई निःशुल्क आधारभूत तालिम, ३६ जनालाई डिप्लोमा तहको तालिम, २२ जनालाई डिप्लोमा तह (लेभल–२) पूरा गरेका व्युटिसियनलाई टटको तालिम दिइसकेको उनले सफल खबरसँगको भेटमा बताइन् । उक्त तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को सहयोगमा सञ्चालन गरेको उनको भनाइ छ ।

चितवन व्युटिपार्लर युनिटीले महिलालाई क्षमता अभिवृद्धिका लागि व्युटिसियनसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ । युनिटीले हालै दुलही श्रृंगार प्रतियोगिता सम्पन्न गरेको सोतीले बताइन् ।

चाइना र थाइल्याण्ड समेत पुगेर व्युटिसियन सम्बन्धी तालिम लिएकी स्वावलम्वी एकल महिला सिर्जनाले आफूले सञ्चालन गरेको स्वस्तिक व्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टरबाट व्युटिसियनहरुलाई तालिम दिँदै छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् र स्कुल अफ हेल्थ साइन्सको सहयोगमा सञ्चालित निःशुल्क दुई महिने डिप्लोमा (तह–२) को तालिममा ४० जना सहभागी रहेको उनर्ले  जानकारी दिइन् । सो ट्रेनिङ सेन्टरबाट सोती लगायत ४ जनाले सहभागीलाई सैद्धानितक तथा व्यवहारिक प्रशिक्षण दिँदैछन् ।

बाबाआमाको प्रेरणाले व्युटिपार्लर खोलेर जीविकोपार्जन गर्दै आएकी सिर्जनाले आफ्ना तीनवटा छोरीलाई पालनपोषण गरेकी छन् । ‘पार्लर चलाएर ठूली छोरीलाई विएन नर्सिङ पढाएकी छु, दुई छोरी विद्यालय शिक्षामा अघि बढ्दैछन्’ उनले भनिन् । माइतीघरको साहरामा तीन छोरी हुर्काएकी सिर्जनाले थपिन् ‘दुई छोरीको एयर होस्टेज बन्ने चाहनालाई पूरा गर्न मेरो पेसालाई निरन्तरता दिनेछु ।’

उनको प्रेरणा र तालिमबाट चितवन र नवलपुरका धेरै महिलाहरुले व्युटिपार्लर खोलेर आत्मनिर्भर बनेका छन् । बेरोजगार र सिप सिक्न चाहने महिलाहरुलाई न्यूनतम शुल्क लिएर सिप सिकाउने र चितवन र नवलपुर क्षेत्रका व्युटिसियनहरुको क्षमता अभिवृद्धि गर्न आगामी दिनमा पनि अग्रसर हुने उनको चाहना छ ।

 

प्रतिक्रिया दिनुहोस