चालु आर्थिक वर्षमा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

सफल खबर संवाददाता

आइतबार, १७ असार २०८०, १५ : ५६
चालु आर्थिक वर्षमा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा पुँजीगत खर्च लक्ष्यको ४३.७३ प्रतिशत मात्र गरेको छ । चालु आव सकिन आधा महिना मात्रै बाँकी छ । सरकारले चालु आवमा पुँजीगत खर्चकालागि ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ बजेट छुट्याएको छ । चालु आवको साढे ११ महिनामा सरकारले पुँजीगत बजेट १ खर्ब ६६ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेको छ ।

सरकारले पुँजीगत खर्चको लक्ष्य पुरा गर्न अब १५ दिनमा २ खर्ब १४ अर्ब २ करोड २७ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । जसका लागि दिनमा १४ अर्ब २६ करोड ८४ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । महालेखा नियन्त्रक कार्यालयको असार १५ सम्मको तथ्यांक हेर्दा सरकारले पुँजीगत खर्च दिनमा १० अर्ब ४ करोड रुपैयाँ खर्च गरेको देखिन्छ । त्यस्तै असार १४ गतेको एक दिनमा १ अर्ब २१ करोड रुपैयाँ खर्च भएको छ ।

महालेखाको तथ्यांक अनुसार १४ गतेको तुलनामा १५ गते एकै दिन ९ अर्ब १७ करोड रुपैयाँ बढी खर्च गरेको छ । यस्तै १३ गते २ अर्ब १२ करोड रुपैयाँ भएको थियो । सरकारको मुख्य आम्दनीको स्रोत राजस्व हो । आम्दनीको मुख्य स्रोत राजस्व संकलन पनि सरकारले चालु आवको १५ दिन बाँकी हुँदा लक्ष्यको ६१.१४ प्रतिशत मात्र उठाउन सकेको छ । चालु आवमा १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १४ खर्ब ३ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

चालु आवको १५ दिन मात्र बाँकी हुँदा राजस्व ८ खर्ब ५७ अर्ब रुपैयाँ मात्र उठाउन सकेको छ । राजस्व लक्ष्य पुरा गर्न १५ दिनमा ७ खर्ब १४ अर्ब रुपैयाँ उठाउनु पर्नेछ । जसका लागि दिनमा ४ खर्ब ७६ अर्ब रुपैयाँ उठाउनु पर्ने देखिन्छ । दिनमा सरकारले ४ खर्ब रुपैयाँ राजस्व संकलन उठाउन सक्ने स्रोत भने कतै देखिदैन । महालेखाको असार १५ को तथ्यांक अनुृसार दिनमा १ खर्ब ७८ अर्ब रुपैयाँ उठाएको छ । चालु आवको १५ दिनमा बाँकी हुँदा गैर राजस्व पनि ७९ अर्ब २३ करोड रुपैयाँ उठाएको छ । सरकारको लक्ष्य १ खर्ब ७ अर्ब रुपैयाँ थियो ।

महालेखा नियन्त्रक कार्यालयको असार १५ सम्मको तथ्यांक अनुसार सरकारले गैर राजस्व लक्ष्यमा ७३.५२ प्रतिशत उठाउन सकेको छ । त्यस्तै वैदेशी अनुदान पनि हालसम्म जम्मा लक्ष्यको ८.६६ प्रतिशत मात्र आएको छ । सरकारले चालु आवमा वैदेशीक अनुदान लक्ष्य ५५ अर्ब ५४ करोड रुपैयाँ लिएको थियो । जसमा असार १५ सम्म ४८ अर्ब २० लाख रुपैयाँ मात्र आएको छ ।

त्यस्तै चालुखर्चतर्फ भने सरकारले लक्ष्यको ७७.७९ प्रतिशत खर्च गरेको छ । चालुतर्फ ११ खर्ब ८३ अर्ब रुपैयाँ खर्च गर्न लक्ष्य लिएकोमा हालसम्म ९ खर्ब २० खर्ब रुपैयाँ खर्च गरी सकेको छ । चालुआवको १५ दिन बाँकी हुँदा सरकारको चालुखर्च लक्ष्य पुरा गर्न २ खर्ब ६२ अर्ब रुपैयाँ बाँकी छ । महालेखाको तथ्यांकअनुसार सरकारले दिनमा ४ अर्बका दरले खर्च भइरहेको छ । लक्ष्य पुरा गर्न १५ दिनमा १७ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस