बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, २० : १९
बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो 

गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको घटना प्रकाशमा आएपछि वडा अध्यक्ष धामी माघ महिनादेखि फरार थिए । उनलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले वडा अध्यक्ष धामीलाई २१ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।सरकारी वकिलको कार्यालयले प्रहरीले तयार पारेको मिसिलका आधारमा धामीमाथि अभियोग लगाई अदालतमा पेस गरेको हो ।

दार्चुला जिल्ला अदालतले वडा अध्यक्ष धामीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । गत वर्ष वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा धामी नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।