बाँकेमा किसानलाई अनुदानमा कृषि उपकरण

सफल खबर संवाददाता

विहीबार, १४ असार २०८०, १२ : ३१
बाँकेमा किसानलाई अनुदानमा कृषि उपकरण

बाँके । बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ । कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो । ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषि यन्त्र अनुदानमा वितरण गरेका हौँ’, उनले भने ।

आर्थिक विकास समितिका संयोजक एवं वडा नं ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावर टेलर वितरण गरिएको छ । पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो । निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो ।

खेती योग्य जमिनका आधारमा मल वितरण

प्रत्येक वर्षझैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन् । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ ।‘धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौँ’, कृषि बीउबिजन कम्पनी नेपालगञ्जका प्रमुख रमेश पौडेलले भने । बाँकेमा धान खेतीका लागि छ हजार मेट्रिक टन मल माग भएको थियो ।

अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन युरिया मल आएको पौडेलले बताए । मागबमोजिम मल नआएपछि यही असार ८ गतेदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो । एउटा गाउँपालिकालाई एक हजार बोरा डिएपी र एक हजार दुई सय बोरा युरिया वितरण गरिएको छ ।

बाँकेमा तीन हजार मेट्रिक टन डिएपी माग भएको थियो तर अहिलेसम्म एक हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ । पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ । कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ । सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए ।