नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, १३ : १९
नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु हुने

वीरगन्ज । वीरगन्ज नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्न वीरगन्ज महानगरपालिकाले तयारी गरेको छ । नगर प्रमुख राजेशमान सिंहको पहलमा नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण सेवा सुरु गर्नका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक वरिष्ठ मृगौला तथा लिभर प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठसहितको टोलीसँग मंगलबार छलफल गरेको छ ।

वीरगन्ज महानगरपालिका कार्यालयमा भएको छलफलमा नगर प्रमुख राजेशमान सिंहले मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सबै प्रकारको भौतिक संरचनासहितको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । वीरगन्जसहित मधेस प्रदेशको मृगौलामा समस्या भएका र डायलासिस गरिरहेका बिरामीलाई प्रत्यारोपण सेवा उपलब्ध गराउन महानगरपालिकाले हरसम्भव सहयोग गर्ने प्रमुख सिंहले बताए ।

नारायणी अस्पतालमा संक्रमण रहित शल्यक्रिया कक्ष (ओटी) निर्माण सुरु भएपछि यहाँ आवश्यक जनशक्तिलाई सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा तालिम दिने र राष्ट्रिय प्रत्यारोपण केन्द्रको चिकित्सकसहितको टोलीले मृगौलाको प्रत्यारोपण सुरु गर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।

निर्देशक डा. श्रेष्ठले नारायणी अस्पतालको निरीक्षण पश्चात आवश्यक पूर्वाधारको निर्माणपछि सबै मिलेर लागेमा केही महिना भित्रमा नै मृगौला प्रत्यारोपण सेवा नारायणी अस्पतालमा उपलब्ध हुनसक्ने बताए । नारायणी अस्पतालको मेडिकल सुपरिटेण्डेण्ट डा. चित्तरन्जन साहले मृगौला प्रत्यारोपण केन्द्रको सहकार्यमा चाडै मृगौला प्रत्यारोपण सेवा सुरु गराउन आफूहरूले तयारी गरेको जानकारी दिए ।

नारायणी अस्प्तालमा नै मृगौला प्रत्यारोपण सेवा दिन मेयर सिंहले लिएको चासोप्रति उद्योगी व्यावसायीले साथ दिएका छन् । उद्योगपति एवं वीरगन्ज महानगरपालिकाका सदभावनादूत समेत रहेका अशोक वैद्यले नारायणी अस्पतालको भौतिक संरचना र सेवामा स्थानीय उद्योगी व्यवसायीले सहयोग गर्दै आएकाले मृगौला प्रत्यारोपणको सेवा उपलब्ध गराउनका लागि पनि आवश्यक सहयोग गर्ने बताए ।

नारायणी अस्पतालमा मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अहिले डायलासिसका लागि प्रयोग भइरहेको स्थानलाई नै तत्कालका लागि व्यवस्थित गर्ने तयारी भएको नारायणी अस्पतलका प्रवक्ता डाक्टर उदयनारायण सिंहले बताए । उनका अनुसार माथिल्लो निकायमा विभिन्न तहबाट पहल भइरहेको र सम्बन्धित निकायबाट पनि पूर्वाधार तथा सेवाका लागि तयारी गर्न निर्देशनसमेन आएको छ ।

महानगर प्रमुख सिंह, पर्साबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको टोली पनि सकारात्मक रहेकाले सबैको समानधारणा र इच्छाशक्तिले चाडै नै सेवा सञ्चालन गर्न सकिने सम्भावना रहेको डा. सिंहले बताए । पूर्वाधार संरचना, आवश्यक जनशक्ति व्यवस्थापन र कानुनी प्रकृया सबै पूरा गर्दा ६ महिनाभित्रमा मृगौला प्रत्यारोपण सेवा सुरु गर्न सकिने उनले बताए ।

मृगौला प्रत्यारोपणका लागि ट्रान्सप्लान्ट सर्जन, तालिम प्राप्त नर्स, अपरेसन सहयोगीलगायत जनशक्ति आवश्यक पर्छ । नारायणी अस्पतालमा अहिले एकजना ट्रान्सप्लान्ट सर्जन छन् । अन्य तालिम प्राप्त जनशक्ति भने अहिले नारायणी अस्पतालमा छैनन् ।

प्रतिक्रिया दिनुहोस