राष्ट्रियसभामा सरकारकाे वार्षिक प्रतिवेदन पेस गर्ने तयारी

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, ११ : २४
राष्ट्रियसभामा सरकारकाे वार्षिक प्रतिवेदन  पेस गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको राष्ट्रियसभाको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने तयारी गरेका छन  । दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा प्रधानमन्त्री दाहालले वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची राखिएको हो ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८र०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८र०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८र०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची समावेश गरिएको छ ।

आजको बैठकमै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने कार्यसूचीसमेत राखिएको छ ।

संघीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाका पूर्व सदस्य महेश चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि समावेश गरिएको छ ।