जेठ महिनामा ३ हजार ८ सय विद्युतीय सवारी भित्रिए, ११ अर्ब २३ करोड बाहिरियो

सफल खबर संवाददाता

शुक्रबार, ०८ असार २०८०, १३ : १९
जेठ महिनामा ३ हजार ८ सय विद्युतीय सवारी भित्रिए, ११ अर्ब २३ करोड बाहिरियो

काठमाडौँ । पछिल्लो महिना विद्युतीय सवारी आयातमा तीब्रता आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार जेठ महिनामा मात्र ३ हजार ८ सय ७० वटा विद्युतीय कार, भ्यान, जिप आयात भएको हो । पेट्रोलियम गाडीको आयातमा कठिनाई भएसँगै व्यवसायीहरु विद्युतीय गाडीतर्फ आकर्षित भएका हुन् । 

विभागका अनुसार यस अवधिमा अधिकतम् ३ हजार ७५२ वटा १०० किलोवाट भन्दा कम ब्याट्री पावरका विद्युतीय सवारी आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाट क्षमताका ११६ वटा र २०१ देखि ३०० किलोवाट क्षमताका २ वटा विद्युतीय सवारी आयात भएका छन् ।  यसरी एक महिनामा आयात भएका ३ हजार ८७० वटा विद्युतीय सवारीमा ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागले जनाएको छ ।

जसबाट सरकारलाई ३ अर्ब ५ करोड ११ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन भएको समेत विभागले जनाएको छ । विद्युतीय गाडीमा भन्सार, अन्तःशुल्क लगायतको ट्याक्स कम हुँदा सरकारलाई राजस्वमा ठूलो धक्का लागेको छ । 

प्रतिक्रिया दिनुहोस