बझाङ दुर्घटनाको छानबिन गर्न समिति

सफल खबर संवाददाता

विहीबार, ०७ असार २०८०, २० : ०२
बझाङ दुर्घटनाको छानबिन गर्न समिति

बझाङ । बझाङमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सवार गाडी दुर्घटना भएको विषयलाई छानबिन गर्न समिति गठन गरिएको छ । सुदूरपश्चिम सरकारले बिहीबारको क्याबिनेट बैठकबाट दुर्घटनाको छानबिनका लागि ७ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले घटनाको सम्बन्धमा अनुसन्धान गरी पन्ध्र दिनभित्र प्रदेश सरकार (मन्त्रिपरिषद्) मा प्रतिवेदन पेश गर्ने छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव (कानुन) गंगाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो ।

असार ५ गते सुदुरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री सिंहको सवार गाडी दुर्घटनामा परी निधन भएको थियो । उनीसँगै उनकी पत्नी अमृता सिंह र मन्त्रीका नातेदार पर्ने जयादेवी सिंहको घटना स्थलमै मृत्यु भएको थियो। गाडीमा सवार मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवल्दार दिपक भण्डारी र गाडी चालक धर्मराज जोशी घाइते भएका छन् ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी २५ मिटर तल कालंगा खोला किनारमा खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस