विद्युतीय गाडी दुर्घटना हुँदा दश जना घाइते, चार जनाको अवस्था गम्भीर

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, १९ : १०
विद्युतीय गाडी दुर्घटना हुँदा दश जना घाइते, चार जनाको अवस्था गम्भीर

काठमाडौँ । विद्युतीय गाडी (इभी) दुर्घटना हुँदा दश जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।दसैँका लागि घर फर्किरहेका यात्रु सवार सुदूरपश्चिम प्रदेशको धनगढीबाट बैतडीको पुर्चौडी जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० विद्युतीय गाडी जिल्लाको सुर्नया गाउँपालिका-७ भञ्ज्याङमा शनिबार दुर्घटनामा परेको हो ।

गाडीमा चालकसहित १८ जना सवार थिए । इभी सडकबाट करिब २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

दुर्घटनामा परी घाइते हुनेमा पुर्चौंडी नगरपालिका-५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, पाँच वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी र १७ वर्षीय विकास साउँद रहेका छन् । 

त्यसैगरी पुर्चौंडी नगरपालिका-४ का १९ वर्षीया कमला धानुक, सोही ठाउँका २२ वर्षीय प्रकाश धानुक र पुर्चौंडी-३ की २२ वर्षीया सावित्री धामी घाइते भएका छन् । सवारी चालक पुर्चौडी नगरपालिका-५, का महेश बोहरा फरार रहेका छन् । फरार रहेका चालकको खोजी र दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस