आलु–प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : डा. कोइराला

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, ०७ : ०३
आलु–प्याजमा लगाएको कर सुधार गर्नुपर्छ : डा. कोइराला

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले बजेटमार्फत आलु–प्याजमा लगाएको कर सुधार गर्नु आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७औं महाधिवेशनलाई सम्बोधन गर्दैै नेता कोइरालाले कर सुधार हुनुपर्ने बताए । उनले सरकारले जनतालाई विदेशबाट आयात भएका आलु, प्याज र स्याउमा मूल्य बढ्ने र नेपाली उत्पादन सस्तो हुने भनेर झुक्याएको बताए । उनले कुनै वस्तुमा १३ प्रतिशत कर लगाएपछि वस्तुको मूल्य सस्तो नभएर महंगो हुने दाबी गरे ।

उनले अर्थमन्त्रीले नेपाली उत्पादनको मूल्य सस्तो बनाउने नाममा आलु, प्याजमा कर लगाउनु नेपाली उपभोक्ताको लागि राम्रो नभएको बताए । उनले नेपाली जनताको भान्सा महंगो भएकाले सरकारले आलु, प्याजमा लगाएको कर तत्काल संशोधन गरेर जान माग गरे । उनले सत्तापक्षका सांसदहरूले नै आफ्ना मागहरू सम्बोधन नभए बजेट पास हुन नदिने भनेकाले यस्तो अवस्था कांग्रेस कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।

नेता कोइरालाले सरकारले बजेटमा जिल्ला निर्वाचन कार्यालय प्रशासन कार्यालयको शाखा बनाउने विषयकोे विरोध गरे । उनले सरकारले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरेर प्रशासन कार्यालयको शाखा बनाउँदा कसरी निर्वाचन स्वच्छता र निष्पक्ष हुन्छ भनेर सरकारले बुझाउनुपर्ने बताए ।

उनले अहिले देशले बाटो बिराएको जस्तो आफूलाई आभास भएको बताए । उनले मुलुकमा जवाफदेहिता, उत्तरदायित्व, सुशासन र दण्डहिनताको अन्त्य हुन नसके लोकतन्त्र सुदृढ हुन नसक्ने बताए । उनले नेपाली कांग्रेस लोकतन्त्र सुदृढ बनाउन खरो रूपमा मैदानमा उत्रिन आवश्यक रहेको बताए । उनले मुलुकमा दण्डहिनता, सुशासन, भ्रष्टाचार मौलाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस