दोस्रो दिनपनि बालकृष्ण खाणको तर्फबाट बहस सुरु

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, ११ : १०
दोस्रो दिनपनि बालकृष्ण खाणको तर्फबाट बहस सुरु

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस जारी रहेको छ । खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् । 

खाणको तर्फबाट बहस गर्ने वकिलहरु धेरै भएकाले दुई दिन लागेको हो । मंगलबार पूर्वगृहमन्त्री खाणका तर्फबाट कानुन व्यवसायीहरू  शेरबहादुर केसी, हरिहर दाहाल, महादेव यादव, प्रेमबहादुर खड्का, पंकज कर्ण, लक्ष्मी थापा खड्का, यज्ञराज पोखरेल, अजय झा, नृसिंहकुमार खत्री र मणिराम उपाध्यायले बहस गरेका थिए । बुधबार सुरुमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस थालेका छन् । 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा सरकारी वकिलको बहसपछि प्रतिवादीको तर्फबाट वकिलहरुले निरन्तर बहस गर्दै आएका छन्। यो प्रकरणमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् । न्यायाधीश न्यौपानेले आज बहस सकेर आदेश दिनेगरी योजना बनाएको भएपनि अझै बहस नसकिएकाले थुनछेकको आदेश आउन ढिलाइ हुने निश्चित भएको छ । 

सबै प्रतिवादीको तर्फबाट बहस सकिएपछि सरकारी वकिलहरूले जवाफी बहस थाल्ने छन् । जवाफी बहस सकेपछि धरौटीमा छाड्ने अथवा थुनामै राखेर मुद्दा अगाडि बढाउने भन्ने आदेश आउने छ ।

प्रतिक्रिया दिनुहोस