काठमाडौँ महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १४ : १५
काठमाडौँ महानगरपालिकाले तोड्यो दुई वटा स्कुलमा लगाइएको ताला

काठमाडौँ । महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुचारु गराएको छ। महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । 

 

महानगरपालिकाले सानो भर्‍याङस्थित संस्कृति स्कुल र बाँसबारीस्थित युलेन्स स्कुलमा अनेरास्वविय क्रान्तिकारीले तालाबन्दी गरेको खबर आएको जनाएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले तालाबन्दी गरिएको खबर प्राप्त भएलगत्तै तत्काल एक्सन लिएर पठनपाठन सहज बनाइएको जानकारी दिए । 

 

‘अनेरास्ववियू क्रान्तिकारीले दुई स्कुलमा ताला लगाएको खबर आएसँगै हामीले तत्काल एक्सन लिएका हौँ’, उनले भने । यसैबीच मेयर  शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएको बताए । ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।’

तर, पढ्ने ठाउँमा ताला लगाएर  अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले भने ।   त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस