रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १० : २७
रिपब्लिक मिडियाको आइपीओमा माग भन्दा बढी आवेदन, आज अन्तिम दिन

काठमाडौ । नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो ।

जसअनुसार आज कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । यसमा मागभन्दा बढी आवेदन परिसकेको छ । सोमबार साँझसम्ममा १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

यस कम्पनीले जेठ २६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । 

जसमध्ये ४४.९९२२% अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ । 

यस्तै, ५% ले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४% ले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।

कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।