टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत

सफल खबर संवाददाता

आइतबार, २८ जेठ २०८०, ११ : ०८
टोखा–छहरे सुरुङमार्ग निर्माण प्रकृया यसै वर्ष अघि बढ्छ : अर्थमन्त्री डा.महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन् । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री डा.महतले भने, ‘टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन ।’

 

 यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ डा. महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउँछौं । यो नुवाकोटको आवश्यकता मात्र होइन, यो देशको आवश्यकता हो ।’

 

राजश्व कम संकलन भएकाले बजेटको स्रोत जुटाउन समेत चूनौतीपूर्ण अवस्था छ । यस्तै, धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको समेत मन्त्री डा.महतको भनाई छ । ‘धेरै वर्षपछि यहाँका विकास निर्माणको जुन आवश्यकता थिए, ती आवश्यकता पूर्तिका लागि हामीले सक्ने बजेट विनियोजन गरेका छौं । स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैन’ महतले भने, ‘टोल टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय निकाय र प्रदेशले आफ्नो बजेटबाट प्रबन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदैछ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ ।’

प्रतिक्रिया दिनुहोस