काठमाडौ । कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनमा भीषण आगलागी भएको छ।
दिउँसो २ बजेदेखि शुरु भएको आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। ठूलो आगो नियन्त्रणमा आइसकेको र रुखमा लागेको आगो निभाउने प्रयास भइरहेको जानकी गाउँपालिकाले जनाएको छ। आगलागीका कारण ठूला साल तथा सिसमका रुख जलेकाले आगो नियन्त्रणमा समस्या भइरहेको छ।
पालिकाले आगलागी बस्तीमा फैलन सक्ने जोखिम बढेकाले जोखिममा रहेका बस्तीलाई सुरक्षित रहन अपिल गरेको छ।
'रुखका टुप्पामा आगो दन्किरहेको छ। हावा चलेमा यो आगो बस्तीमा फैलन सक्ने जोखिम छ,' पालिकाका विपद् व्यवस्थापन शाखा सम्पर्क व्यक्ति नेत्रप्रसाद जैसीले भने, 'वनसँग नजिक भएका बस्ती विजयनगर, लायकपुर, जगतपुरका स्थानीयवासीलाई सचेत रहन भनेका छौँ। रुखका टुप्पासम्म निभाउन कठिन भएको छ।'
आगो नियन्त्रणका लागि टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, गाउँपालिकाको स्काभेटर, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि खटेका छन्।
अहिलेसम्म २० हेक्टर बढी वन क्षेत्र जलिसकेको पालिकाले जनाएको छ। आगलागीबाट करोडौँको वन पैदावारमा क्षति भएको पालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति जैसीले बताए।
'वन क्षेत्रमा दिउँसोदेखि आगलागी भएको खबर पाएलगत्तै निभाउने प्रयास भइरहेको छ,' उनले भने, 'अत्यधिक गर्मी भएकाले आगो धेरै फैलिरहेको छ। गर्मीको समयमा वन सुक्खा भएका बेला आगलागी हुँदा वन पैदावारमा क्षति भएको छ।'
इलाका प्रहरी कार्यालय टीकापुरले आगलागी बस्तीतर्फ फैलन नदिन सबै नियन्त्रणमा खटिरहेको जानकारी दिएको छ। वनमा आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको बताइएको छ। कैलालीमा हरेक वर्ष गर्मीका समयमा आगलागीजस्ता घटनाले करोडौँको वन पैदावार नष्ट हुने गरेको छ।
सामुदायिक वनहरूले आगो नियन्त्रणका लागि अग्निरेखा निर्माण, उपभोक्तालाई सचेतनाजस्ता कार्यक्रम गरे पनि बर्सेनि आगलागीका घटना न्यूनीकरण हुन सकेका छैन। गर्मी समयमा आगलागीका घटना बढ्दै गए पनि कैलालीमा अग्नि नियन्त्रणका लागि दमकल अभाव हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ जेठ २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि
नयाँ वर्षे मनाउँदै गर्दा बारमा आगलागी : ४० जनाको मृत्यु, ११५ घाइते