जथाभावी फालेको फोहोरले मेलौली बजार क्षेत्र दुर्गन्धित

सफल खबर संवाददाता

शुक्रबार, २६ जेठ २०८०, ११ : ०८
जथाभावी फालेको फोहोरले मेलौली बजार क्षेत्र दुर्गन्धित

बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहोरका कारण दुर्गन्धित बन्दै गएको छ ।  तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो । जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताए । नगरपालिका  कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ ।

जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताए । उनले भने, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने अर्कोतिर श्वास फेर्न गाह्रो भइरहेको छ ।”

नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासोसमेत रहेको छ । फोहरले नाली र होमपाइप जाम भएका छन् । सिसाका बोतल, प्लाष्टिकलगायतका फोहर जथाभावी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताए । उनले भने, “फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । सिसा, प्लाष्टिक, कार्टुनलगायतका फोहरले घाँज काट्न समस्या हुने गरेको छ । बालबालिकालाई पनि हिँडडुल गर्न समस्या छ ।” 

जथाभावी फालिएको फोहरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन् । नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप  छ ।  फोहोर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी नेगीले बताए । उनले भने, “बजार क्षेत्रमा जथाभावी फालिने फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक गुहारिसक्यौँ तर कुनै चासो दिएको छैन ।”

नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने पनि डम्पिङसाइट नहुँदा समस्या भएको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती विष्टले बताए । उनले भने, “अव्यवस्थित फोहर व्यवस्थापनका लागि डम्पिङसाइटका लागि ठाउँ खोजिरहेका छौँ । डम्पिङसाइटकोे टुङ्गो लागेपछि जतिसक्दो चाँडो फोहर व्यवस्थापन गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस