तराईमा अघिल्लो वर्षको तुलनामा ३ डिग्री बढ्यो तापक्रम

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १२ : २४
तराईमा अघिल्लो वर्षको तुलनामा ३ डिग्री बढ्यो तापक्रम

बारा । तराई मधेसमा गर्मीले जनजीवन प्रभावित भएको छ । कतिपय पालिकाले गर्मीकै कारण विद्यालय बन्द गरेका छन् । नागरिक उड्डयन कार्यालय सिमराका मौसम शाखाका सहायक मौसम विज्ञ लक्ष्मण प्रसाद न्यौपानेका अनुसार बारामा गत वर्षको तुलनामा ३ डिग्रीले तापक्रम बढेको छ ।

यस वर्ष सिमरा आसपास अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ भने गत वर्ष यस क्षेत्रमा अधिकतम तापक्रम ३९ डिग्रीसम्म रहेको उनले जानकारी दिए ।‘वर्षभरिको तापक्रम मापन हेर्दा गत वर्ष अधिकतम ३८ दशमलव ८ डिग्री तापक्रम मापन भएकोमा यो वर्ष ४१ दशमलव २ डिग्री तापक्रम रेकर्ड भएको छ, मे ३१ तारिखमा सिमरा विमानस्थलमा रेकर्ड भएको तथ्याङ्क हो यो,’ सहायक मौसम विज्ञ न्यौपानेले भने ।

हावामा ‘मोस्चर’ ९पानीको मात्रा० घट्दो रहेकाले तापक्रम अझ बढ्ने सम्भावना रहेको उनले बताए ।जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराको यो तथ्याङ्क सिमरा आसपासको भए पनि जिल्लाको दक्षिणतर्फ भने तापक्रम अझ बढी रहेको अनुमान गरिएको छ ।बाराको फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले दक्षिणतर्फ प्रचण्ड गर्मीले जनजीवन प्रभावित भएको बताए । उनले भने, ‘हामीकहाँ विद्यालयहरू सबै बन्द छ, गर्मी बढेर इनार तथा हाते पम्प सुकेका छन्, जसले गर्दा खानेपानीको पनि हाहाकार भएको छ, स्थिति एकदमै खराब छ ।’

अध्यक्ष अन्सारीका अनुसार खडेरीका कारण किसानले खेतमा धान बिउ राख्न पाएका छैनन् । ‘बोरिङ राख्नका लागि हामीले विद्युत् कार्यालयलाई अनुरोध गरेर पोल र ट्रान्सफर्मर जडान सुरु गरेका छौँ,’ उनले भने ।यो पनि गर्मीले सरुवा रोगसँगै किटजन्य रोगको बढ्यो खतरा

लगातार बढ्दै गएको गर्मीका कारण अहिले बाराको १६ वटै पालिकाका सामुदायिक तथा अधिकांश निजी विद्यालय बन्द छन् भने मानो लगाएर मुरी फलाउने किसानहरू धानको बिउ राख्न नपाएर चिन्तामा छन् ।छिटपुट बाहेक बारामा झन्डै १ वर्षदेखि राम्रोसँग पानी नपरेको सहायक मौसम विज्ञ न्यौपानेको भनाइ छ ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी साह कलवारले गर्मी बढ्दै गएको र लामो समयदेखि पानी नपर्दा धेरै समस्या भएको बताए ।‘गर्मी बढेपछि हामीले शुक्रबारसम्म सबै विद्यालय बन्द गरेका छौँ,’ नगरप्रमुख कलवारले भने, ‘खानेपानीको धारा सबै सुकिसकेको छ, पानी नपरेपछि किसानले खेतमा बिउ राख्न पाएका छैनन् ।’

गर्मीका कारण केही दिन अघि जीतपुर सिमरा उपमहानगरका केही विद्यालयमा विद्यार्थी बेहोस हुने, वाकवाकी आउने लगायतका समस्या देखिएको थियो ।जिल्ला शिक्षा इकाई कार्यालय बाराका प्रमुख शशिकुमार यादव मौसम सामान्य अवस्थामा नफर्किए जिल्ला विपत् व्यवस्थापन समितिबाट थप निर्णय लिने बताउँछन् ।

‘अहिले जिल्लाभरका सबै विद्यालय बन्द छन्, गर्मी नघटे बिदा अझ बढ्न सक्छ,’ शिक्षा इकाई प्रमुख यादवले भने ।बाराको १६ वटा पालिकामा सामुदायिक र निजी गरी ४६० वटा विद्यालय छन् । शैक्षिक क्यालेन्डर अनुसार वार्षिक २२० दिन अनिवार्य विद्यालय खुल्नुपर्दछ भने शनिबार सहित ४५ दिन वार्षिक बिदा रहन्छ ।

तापक्रम बढ्दै गए तराईमा खाद्य सङ्कट हुन सक्छ स् वातावरण विज्ञ सिंह

वातावरण विज्ञ विनोद सिंहले तराईमा लगातार तापक्रम बढ्दै गए खाद्यान्न सङ्कट हुनसक्ने बताए । तापक्रम बढ्दै जाँदा अन्न बालीमा परागसेचन नहुने र भइहाले पनि मौसम अनुसार उत्पादन हुन नसक्ने कारण भविष्यमा खाद्य सङ्कट निम्तिने खतरा रहेको उनको भनाइ छ ।

‘देशमा खाद्य सङ्कट भयो भने गरिबी बढ्न सक्छ, गरिबी बढ्यो भने सामाजिक अपराध बढ्छ,’ बाराका डिभिजन वन अधिकृत समेत रहेका सिंहले भने, ‘तापक्रम बढ्दै जाँदा पानीका मुहानहरू सुक्दै जान्छ, पानी नहुँदा सिँचाइ नहुने र मलिलोपना घट्दै जान्छ । उर्वराशक्तिमा कमी आउँछ ।’

बढ्दो तापक्रमका कारण जैविक विविधता, पर्यावरण, दिगो विकास जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्नेछ भने नयाँ नयाँ प्रकारका स्वास्थ्यमा समस्या आउने, खाद्य सङ्कट लगायतका समस्या निकट भविष्यमा देखिने उनको भनाइ छ ।सिंहका अनुसार तापक्रम बढ्दै जाँदा तराईमा प्रशस्त मात्रामा पाइने वनस्पति र प्राणीहरू अन्यत्र सिफ्ट भएर अनुकूल वातावरण खोज्दै जाँदा अर्को सङ्कट निम्त्याउन सक्ने देखिन्छ ।‘यो सबै हामीले नै सिर्जना गरेको हो, यसको प्रभाव पनि हामीले नै भोग्नु पर्दछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस