उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

सफल खबर संवाददाता

सोमबार, २२ जेठ २०८०, १५ : ०४
उद्योग मन्त्री रिजाल र इटालीका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इटालीका गैर–आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, सहयोग तथा व्यापार र लगानी लगायत विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री रिजालले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै कायम रहेको सुखद र सौहार्दपूर्ण सम्बन्धप्रति प्रसन्नता व्यक्त गरे । नेपालले इटालीसँगको सम्बन्धलाई युरोपेली संघको एक महत्वपूर्ण सदस्यका रूपमा मात्र नहेरेको बताउँदै मन्त्री रिजालले इटालीको ऐतिहासिक, सांस्कृतिक र आर्थिक स्थानको महत्व र विश्वव्यापी मामिलामा खेलेको महत्वपूर्ण भूमिकाका कारणले पनि नेपालले निकै महत्व दिदैं आएको बताए ।

नेपाल र इटालीले विभिन्न विषयमा साझा धारणा राखेको र बहुपक्षीय फोरममा मिलेर काम गरेको बताउनु हुदै मन्त्री रिजालले आगामी दिनमा पनि यस्तो सम्बन्ध कायम रहने विश्वास व्यक्त गरे । मन्त्री रिजालले २०७२ साल जेठ १२ गते नेपालमा गएको भूकम्पपछि इटालियन सरकारले गरेको अमूल्य सहयोगको स्मरण गर्दै आभार ब्यक्त गरे ।

त्यसैगरी मन्त्री रिजालले कोभिड– १९ महामारीको बेला समेत इटालियन सरकारले गरेको सहयोग प्रति प्रसंसा व्यक्त गरे । कोभिड–१९ महामारीका बेला इटालीले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्रीको सहयोग उपलब्ध गराएको थियो । भेन्टिलेटर लगायतका राहत उपकरण तथा कोभिड १९ भ्याक्सिनको ६ लाख भन्दा बढी डोजहरू मैत्रीपूर्ण सहयोगका रूपमा नेपालले प्राप्त गरेको थियो ।
इटाली सरकारले सामान्यतया युरोपेली संघ मार्फत नेपाललाई विकास सहयोग प्रदान गर्दै आएको छ । नेपाल अल्प विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नती गर्ने चरणमा रहेकोले दिगो स्तरोन्नतीका लागि इटाली सरकारले आफ्नो सहयोगको दायरा बढाउनेछ भन्दै मन्त्री रिजालले विश्वास व्यक्त गरे ।

त्यसैगरी मन्त्री रिजालले दुई देशबीच आर्थिक र व्यापारिक आदानप्रदानलाई गहिरो बनाउन पर्यटन, व्यापार, उच्च शिक्षा र रोजगारीका क्षेत्रहरु रहेका स्पष्ट पारे । सन् २०२६ मा नेपाल अल्प विकसित राष्ट्रबाट स्तरोन्नती हुने भएकोले नेपालको स्तरोन्नतीलाई दिगो बनाउन इटाली सरकारको महत्वपूर्ण सहयोग रहने प्रति मन्त्री रिजालले अपेक्षा व्यक्त गरे ।

इटालीबाट नेपाल भित्रिएको प्रत्यक्ष विदेशी लगानीको प्रसंसा गर्दै मन्त्री रिजालले आईसीटी र पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत र कृषि क्षेत्रहरूमा लगानी बढाउन र विविधीकरण गर्नको लागि महामहिम राजदूत भिन्सेन्जो डि लुकाको अधिकतम प्रयास रहने प्रति विश्वास व्यक्त गरे ।

भेटमा इटालीका गैर-आवासीय महामहिम राजदूत भिन्सेन्जो डि लुकाले नेपालसंग ईटालीको ब्यापार बढेको उल्लेख गर्दै इटालीमा उत्पादन भएका नयाँ प्रविधिका मेसिनहरु नेपालमा आपूर्ति गर्न सकिने बताए । नेपाल र इटालीबीच द्विपक्षीय सम्बन्धबाट ब्यापार लगानी वृद्धि गर्न सकिने स्पष्ट पारे ।

दुई देशका चेम्बर अफ कमर्सबीच असल सम्बन्ध स्थापित भएको बताउदै राजदूत लुकाले यसलाई अझ बिस्तार गर्न सकिने बताए । ईटाली सरकारले २०३० मा रोम एक्स्पो आयोजना गर्न लागेको बताउदै राजदूत लुकाले उक्त एक्स्पोमा नेपाली कला संस्कृति र पहिचानसहित नेपालको पनि सहभागिता रहनेमा विश्वास व्यक्त गरे । ईटालीमा नेपालीको संख्या बढ्दै गैरहेको बताउदै राजदूत लुकाले दुई देशको द्विपक्षीय सम्बन्धलाई अझ बलियो र विस्तार गर्ने चाहना इटाली सरकारको रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस