नेपालमा हिन्दु र बौद्ध धर्म मान्ने घटे, इस्लाम, किरात र क्रिश्चियन बढे

सफल खबर संवाददाता

शनिबार, २० जेठ २०८०, १४ : ३२
नेपालमा हिन्दु र बौद्ध धर्म मान्ने घटे, इस्लाम, किरात र क्रिश्चियन बढे

काठमाडौँ।राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले नेपालमा हिन्दु र बौद्ध धर्म मान्नेको संख्या घटेको देखाएको छ । तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार नेपालमा हिन्दु र बौद्ध धर्म मान्नेको संख्या सानो संख्यामा घटेको देखाएको हो । यद्यपि यसअघि कतिपयले आशंका गरेकोजस्तो ठूलो संख्यामा भने घटबढ भएको छैन । 

गत चैत १० गते जनगणनाको विवरण सार्वजनिक गरेको कार्यालयले शुक्रवार मात्रै जाति, धर्म र भाषाको विवरण सार्वजनिक गरेको हो । कार्यालयका अनुसार नेपालमा दुई करोड २६ लाख सात हजार ७४४ हिन्दु धर्मावलम्बी रहेका छन् । जुन कूल जनसंख्याको ८१.१९ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा हिन्दु धर्म मान्नेको संख्या ८१.३ प्रतिशत थियो ।हिन्दुको जनसंख्या ८१.३ प्रतिशतबाट घटेर ८१.१९ मा झरेको छ।

१० वर्षको अवधिमा हिन्दु धर्म मान्नेको प्रतिशत ०.११ ले घटेको हो । नेपालमा हिन्दुपछि दोस्रोमा बौद्ध धर्म मान्ने छन् । बोद्ध धर्म मान्नेको संख्या पनि घटेको तथ्यांकले देखाएको छ । कार्यालयको विवरणअनुसार २३ लाख ९३ हजार ५४९ जना छन् । जुन कूल जनसंख्याको ८.२१ प्रतिशत हो । 

२०६८ को जनगणना नेपालमा बौद्ध धर्म मान्नेको प्रतिशत ९ प्रतिशत थियो । १० वर्षको अवधिमा १ प्रतिशतले घटेको छ ।तथ्यांक कार्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार इस्लाम, किरात र क्रिश्चियन धर्म मान्नेको संख्या भने बढेको छ । तेस्रोमा मुस्लिम धर्म मान्ने १४ लाख ८३ हजार ६६ जना छन् । जुन कूल जनसंख्याको ५.०८ प्रतिशत हो । २०६८ को जनगणना अनुसार मुस्लिम धर्म मान्नेको संख्या ४.४ प्रतिशत थियो । 

त्यस्तै किरात धर्म मान्ने नौ लाख २४ हजार २०४ जना छन् । जुन कूल जनसंख्याको ३.१७ प्रतिशत हो । २०६८ को जनगणना अनुसार किरात धर्म मान्ने ३ प्रतिशत थिए ।नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या पाँच लाख १२ हजार ३१३ रहेको छ । जुन कूल जनसंख्याको १.७६ प्रतिशत हो । २०६८ को जनगणना अनुसार नेपालमा क्रिश्चियन धर्म मान्नेको संख्या १.४ प्रतिशत थियो ।

उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिसअनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या, मातृभाषा संख्या र धर्म संख्या कायम भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस