मृगौला बिक्री गर्न लगाउने गिरोहका पाँच जना पक्राउ

सूर्यप्रकाश कँडेल

आइतबार, १३ साउन २०७५, १५ : २४
मृगौला बिक्री गर्न लगाउने गिरोहका पाँच जना पक्राउ


चितवन । दिल्ली पु¥याएर मृगौला बिक्री गर्न लगाउने गिरोहका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
दुर्गम क्षेत्रका मानिसहरुको अशिक्षा र गिरिविको गलत फाइदा उठाई उनीहरुलाई प्रलोभनमा पारेर मृगौला बिक्री बितरण गर्ने समुहका बिक्रम पहरी, प्रकाश तामाङ र दिपक लिम्बुलाई मिति साउन एक गते (गत मंगलबार) चितवनबाटै, दुर्गाबहादुर दर्जीलाई सोही दिन काठमाडौंबाट र बिशाल नेपालीलाई गत शुक्रबार रसुवाबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकामध्ये दुर्गा परियार बाहेक अन्यले अरु तस्करहरुको सम्पर्कबाट भारतको बिभिन्न अस्पतालमा गई मृगौला बिक्री गरेको  र सोही क्रममा निजहरुले सोझासिधा तथा निमुखा सर्वसाधारणलाई प्रलोभनमा पारी भारतको विभिन्न अस्पतालहरुमा सम्पर्क गराई मृगौला तस्कर गर्ने गरेको खुल्न आएको प्रहरीको भनाइ छ । मृगौला बिक्री गर्ने मानिस खोजी सम्पर्क गराई दिए बापत एक जनाको मृगौला बिक्री गराएवापत ५० हजारदेखि एक लाख रुपैयाँसम्म कमिशन लिने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ । संलग्न अन्य व्यक्तिहरुको समेत खोजतलास भइरहेको र पक्राउ परेकाहरु उपर मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनु भयो ।
मेडिकल सिटीको रुपमा चिनिएको चितवन जिल्लामा स्वास्थ्य सम्बन्धी बिभिन्न अपराध हुन सक्ने अवस्थालाई मध्यनजर राखी गत असारको अन्तिम साताबाट ७ जनाको मेडिकल रेस्पोन्स टिम गठन गरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार, मानव स्वास्थ्यमा असर पार्ने आपराधिक गतिविधि नियन्त्रण गर्न, अशिक्षित, गरीब र दुर्गम भेगका मानिसलाई बिभिन्न आर्थिक प्रलोभन देखाई तिनीहरुलाई भारतको दिल्लीमा लगी मृगौला झिकी बिक्रि गरी दिने र त्यस वापत कमिशन लिने जस्ता अपराधहरु नियन्त्रण गर्नु यो टिमको मुख्य उद्देश्य रहेको छ ।

पक्राउ परेका मानिसहरु :
१) जिल्ला नुवाकोट पन्चकन्या गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४१ को हरि परियार भन्ने दुर्गा बहादुर दर्जी ।  
२) जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ३५ को बिक्रम पहरी  ।
३) जिल्ला मकवानपुर बकैया गाउँपालिका वडा नं. ५ बस्ने बर्ष २८ को प्रकाश तामाङ ।
४) जिल्ला मोरङ बयरबन गाउँपालिका वडा नं. ६ बस्ने बर्ष ३४ को दिपक लिम्बु ।
५) जिल्ला रसुवा उतरगया गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २८ को बिशाल नेपाली ।

प्रतिक्रिया दिनुहोस