'अखण्ड भारत'को नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, १३ : ३३
'अखण्ड भारत'को नक्सामा लुम्बिनी र कपिलवस्तु राखिएकोप्रति एमाले रुपन्देहीको आपत्ति

काठमाडौँ। नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको 'अखण्ड भारत' को नक्सामा नेपालका भूभागहरू समेत समावेश गरिएकोप्रति आपत्ति जनाएको छ । एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा राखिएको उक्त नक्सामा विश्वमै प्रख्यात नेपालको रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू–भाग कपिलवस्तुलाई पनि समावेश गरिएको सार्वजनिक हुनु निकै नै आपत्तिजनक रहेको उल्लेख गरेका छन् ।

उनले यसबारे सरकारको धारणा यथाशीघ्र सार्वजनिक गर्न माग गरेका छन् । नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग अझै फिर्ता नआइसकेको सन्दर्भमा थप भू–भागलाई आफ्नो नक्सामा राखेर छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्तिप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'यसले भारत नेपालको मिचिएको भूभाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस