सीटीईभीटीद्वारा ६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

सफल खबर संवाददाता

शनिबार, १३ जेठ २०८०, ०७ : ४५
सीटीईभीटीद्वारा ६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ६४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ ।

परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित ६४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार ९९ स्थानीय तहका ८० जनालाई ३ वर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रिडिप्लोमा तहमा १६० जना र ३ वर्षे डिप्लोमा/प्रमाणपत्र तहमा ४०० जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ ।

उनले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक ३ हजार ५००, यातायात खर्चबापत प्रतिवर्ष १ हजार ५०० र पोशाक खर्चबापत प्रतिवर्ष २ हजार ५०० रुपैयाँ समेत उपलब्ध गराइनेछ । 

८० विद्यार्थीलाई ३ वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोमा इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उनले जानकारी दिए । १८ महिने प्रिडिप्लोमा एग्रिकल्चर, फरेस्ट्री, अटोमोबाइल इन्जिनीयरिङ र सिभिल इन्जिनीयरिङ विषय अध्ययन गराइन्छ । 

३ वर्षे डिप्लोमा सिभिल इन्जिनीयरिङ, बालीविज्ञान, जियोमेटिक्स इन्जिनीयरिङ, बायोमेडिकल इन्जिनीयरिङ, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर) इन्जिनीयरिङ, रेफ्रिजिरेसन एण्ड एयरकन्डिसनिङ इन्जिनीयरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इन्जिनीयरिङ विषय अध्ययन गराइन्छ ।

प्रतिक्रिया दिनुहोस