स्वास्थ्यमन्त्री बस्नेत वीर अस्पतालको आकस्मिक निरीक्षणमा

सफल खबर संवाददाता

शुक्रबार, १२ जेठ २०८०, १६ : २५
स्वास्थ्यमन्त्री बस्नेत वीर अस्पतालको आकस्मिक निरीक्षणमा

काठमाडौं  । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार वीर अस्पतालको आकस्मिक निरीक्षण गरेका छन् । विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिएर शुक्रबार बिहान काठमाडौं आइपुगेका मन्त्री बस्नेतले एक हप्ताभित्र विरामीहरुले महसुस हुने गरि र सुधार भएको देखिने गरि वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।

वीर अस्पतालको सेवा सुविधा नसुध्रेसम्म देशका अन्य स्वास्थ्य संस्थाको सेवा सुधार गर्न नसकिने बताउदै मन्त्री बस्नेतले सबैभन्दा पहिले वीरको सेवा सुविधा सुधार हुनु पर्नेमा जोड दिए । मन्त्री बस्नेतले भने, ‘ वीर अस्पताल देशको लिडर अस्पताल हो । वीरको सेवामा तत्काल सुधार हुनै पर्छ । ’वीरको सेवा सुधार्न हरेक चिकित्सकले इमान्दार प्रयास गर्नु पर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको मन्त्री बस्नेतको भनाई छ ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का निमित्त उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराएका थिए । मन्त्री बस्नेतले वीर अस्पतालको टिकट काउन्टर, फार्मेसी, हेमोडाइलासिस, आईसियू, आकस्मिक कक्ष, जनरल वार्ड, ग्यास्ट्रो, उपकुलपति कार्यालय लगायत वीर अस्पतालका महत्वपूर्ण विभागहरुको निरीक्षण गरेका थिए ।

मन्त्री बस्नेतले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाईन मार्फत टिकट काट्ने व्यवस्था मिलाएर त्यसको जानकारी सर्वसाधारणलाई हुने गरि व्यवस्था गर्न निर्देशन दिएका छन् । त्यसैगरि अस्पतालमा रहेका बेड र आईसियू बेड खाली भए नभएको जानकारी वेभसाइटमा राख्न समेत मन्त्रीले निर्देशन दिएका छन् ।

वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको ९ बेड आईसियू एक हप्ताभित्रै सञ्चालनमा ल्याएर आईसियू बेड नपाएर भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न मन्त्री बस्नेतले निर्देशन दिए । उनले भने, ‘ नर्सिङ जनशक्ति केही दिनमा लोकसेवा पास गरेर आउदैछ भनेर पर्खेर बस्ने अवस्था छैन । अस्पतालकै जनशक्ति तानतुन गरेर भए पनि चाडो आईसियू सञ्चालन गर्नु पर्यो ।’

देशभरि मिर्गौला फेल हुने बिरामीहरुको संख्या बढ्दै गइरहेकोले डाइलासिस गराउन आवश्यक पर्ने बेड संख्या थप्न, अस्पतालको सरसफाईमा ध्यान दिन र आकस्मिक कक्षमा बेडको संख्या थप्न पनि मन्त्रीले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस