माओवादी नेतृत्वको सरकारले ल्याएको कार्यक्रम संघीयता विरोधी : सीके राउत

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १३ : ४७
माओवादी नेतृत्वको सरकारले ल्याएको कार्यक्रम संघीयता विरोधी : सीके राउत

काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम संघीयता विरोधी भएको आरोप लगाएका छन् । माओवादी नेतृत्वको सरकारले संघीयता विरोधी कार्यक्रम ल्याएकोमा उनले आश्चर्य व्यक्त गरे । 

 

मंगलवार प्रतिनिधि सभामा भएको छलफलमा भागलिँदै अध्यक्ष राउतले ७० पेजको नीति कार्यक्रममा ३ ठाउँमा मात्र संघीयता राखिएको भन्दै शंका व्यक्त गरेका हुन् । ‘७० पेजको कार्यक्रममा ३ ठाउँमा मात्र संघीयता लेखिएको छ । माओवादी नेतृत्वको सरकारले ल्याएको कार्यक्रम संघीयता विरोधी देखिएको छ’ राउतले भने । 

१९ नम्बर बुँदामा वित्तिय संघीयताको प्रभावकारी कार्यान्वयन गर्ने बाहेक संघीयताको सवलीकरणमा सरकारका नीति कार्यक्रम मौन रहेको उनले आरोप लगाए । यसअघि सरकारमा सहभागी रहेको जनमत पार्टी अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट अलगिएको छ ।राउतले माओवादी आन्दोलनको समयमा सक्रिय रहेका सशस्त्र समूहलाई राजनीतिको मूलधारमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।