अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

सफल खबर संवाददाता

आइतबार, ०७ जेठ २०८०, १४ : २७
अतिक्रमण गरी बनाइएका टहरा हटाइँदै

कैलाली । डिभिजन वन कार्यालयले कैलालीमा वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको छ । विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका टहरा हटाउने अभियान सुरु गरेको हो । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा राजमार्ग छेउमा बनाइएका दुईसयभन्दा बढी भौतिक संरचना भत्काइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएसँगै आसपासको वनक्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना भत्काउने कार्य सुरु गरिएको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। उनका अनुसार विभिन्न बहानामा सामुदायिक र राष्ट्रिय वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाउन सूचना जारी गरिएको छ । उनले कैलालीको सबैभन्दा ठूलो वसन्ता वन क्षेत्रमा व्यापक अतिक्रमण भएकाले सो स्थानमा अतिक्रमण खाली गर्न पत्राचार गरिएको बताए । 

यसैगरी कैलालीको चुरे गाउँपालिका–४ पनेरुवा र टाकगडामा वन अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइएको छ । डिभिजन वन कार्यालयले एक सय पाँच हेक्टर वन क्षेत्र खाली गराइएको जनाएको छ । टाकगडाका एक सय ३५ टहरा डोजर लगाएर भत्काइएको डिभिजन वन कार्यालयका अधिकृत डबल बोहराले जानकारी दिए । उनले चुरे–४ पैनेरुवामा समेत तीन सय ५० टहरा भत्काइएको बताए । सो क्षेत्रमा ४७ हेक्टर अतिक्रमण गरिएको वन खाली गराएको जनाइएको छ ।

चुरे फेदीको टाकगडा र पैनेरुवामा पहिरो पीडितका नाममा वन अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएका थिए । 
सुदूरपश्चिम प्रदेश सरकारले २०७५ साल असोज १२ गते गोदावरीको तेघरीमा प्रदेशको राजधानी तोकेपछि वनमाफियाले वरपरको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गर्नेक्रम बढेको स्थानीयको भनाइ छ । 

सो क्षेत्रमा बाढीपीडित तथा सुकुम्बासीका नाममा जङ्गल छेउमा बस्दै आएका पछिल्लो समय सिमाना मिच्दै जमिन बढाउन थालेका छन् । डिभिजन वन कार्यालयका अनुसार कैलालीमा अहिलेसम्म २५ हजार हेक्टर बढी वन क्षेत्र अतिक्रमणमा परेको छ । देशभरमा एक लाख हेक्टर वनको क्षेत्रफल अतिक्रमणको चपेटामा परेको छ भने त्यसको २१ प्रतिशत वन क्षेत्र कैलालीमा मात्रै अतिक्रमण भएको बताइएको छ । यो तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीमा वन अतिक्रमण भएको देखिएको छ । 

प्रतिक्रिया दिनुहोस