भूमि र आवासको समस्या समाधान गर्न तीनै तहको सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

मंगलबार, ०२ जेठ २०८०, १४ : ३५
भूमि र आवासको समस्या समाधान गर्न तीनै तहको सहकार्य आवश्यक : मन्त्री श्रेष्ठ

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले भूमि र आवासको समस्या समाधान गर्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक भएको बताएकी छन् ।

मंगलबार नेपाल जग्गा तथा आवास विकास महासंघद्वारा आयोजित मुलुकको आर्थिक वृद्धिमा घर जग्गा क्षेत्रको सम्भावना’ विषयक कार्यशालामा उनले सबै सरकारी र निजी क्षेत्रको सहयोग र सहकार्य आवश्यक रहेको बताएकी हुन् ।

‘नेपालमा भूमि र आवासको समस्या निकै पुरानो समस्या हो । यो समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीचको सहकार्य आवश्यक छ,’ उनले भनिन् ।

सहरमा धन आर्जन, शिक्षा, स्वास्थ्य र अन्य सेवा सुविधा बढी रहेको उनको भनाइ छ । ‘यही कारण आज गाउँबाट सहरमा मानिस आउनेक्रम जारी छ,” उनले भनिन्, ‘सहरमा आउने यही क्रम र जनसंख्याको चापले भूमि, आवास र अन्य समस्या थपिँदै गएको छ ।’

उनले सरकारको एक्लो प्रयासले घर तथा आवासको समस्या समाधान हुन नसक्ने बताइन् । मन्त्री श्रेष्ठले भूमि व्यवस्था र आवासको समस्या समाधान गर्न नीति निर्माण गर्ने कामलाई प्राथमिकतामा राखेको बताइन् ।

सहर भित्रिने चाप र गाउँ छोड्ने अवस्थाले भूमि र आवासको समस्या बढ्दै गएको उनको भनाई छ । सरकारले यो अवस्था अन्त्यका लागि प्रभावकारी ढंगले अगाडि बढिरहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस