महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्छ : भूपेन्द्रजंग शाही

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १६ : ३३
महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्छ : भूपेन्द्रजंग शाही

सुर्खेत । नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले कांग्रेसलाई रुपान्तरण गर्ने हो भने महामन्त्रीहरुले विशेष महाधिवेशन बोलाउने हिम्मत गर्नुपर्ने बताएका छन् ।  पार्टीभित्र असन्तुष्टि पोखेर मात्रै रुपान्तरण सम्भव नभएकाले विशेष महाधिवेशन बोलाएर नै वृहत छलफल गरिनुपर्ने उनको भनाई छ । आज सुर्खेतमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले कांग्रेसलाई सुधार गर्नु नै अहिलेको आवाश्यकता रहेको औंल्याए । ‘कांग्रेसलाई सुधार गर्ने हो भने महामन्त्रीद्धयको टालटुले छलफलले कांग्रेस रुपान्तरण हुने अवस्था छैन,’ शाही भन्छन्, ‘त्यसैले रुपान्तरण नै गर्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।

शाहीले पार्टीभित्र पनि तीव्र असन्तुष्टि पैदा भइरहेको र आशा जगाउनुपर्ने अहिलेको आवाश्यकता रहेको बताए । उनले भने, ‘पार्टीमा ठुलो आशा जगाउनु पर्नेछ । जनतामाझ भरोसा र कार्यकर्तामा विश्वास जगाउनुपर्ने छ । यो परिस्थितिमा सामान्य झारा टार्ने खालको छलफलले निकास निस्किँदैन ।’महामन्त्रीहरु नै सभापति शेरबहादुर देउवासँग असन्तुष्ट हुन् भने विशेष महाधिवेशनको बैठक बोलाएर वृहत छलफल र समीक्षा गर्नुपर्ने उनको भनाई छ । केही दिनअघि महामन्त्री गगन थापाले फेसबुकमा ‘अब त अति भयो’ भन्ने शीर्षकमा स्टाटस् लेखेका थिए । युवा नेता शाहीले पार्टीको कार्यकारी भूमिकामा रहेका महामन्त्रीले फेसबुक र ट्वीटरमा

 

लेखेर मात्र पार्टी सुधार नहुने बताए । ‘हामीले रुपान्तरणको अभियान सुरु गरिरहेका छौँ, यो भनेको पार्टीभित्र निरास भएका कार्यकर्ताहरुलाई आशा जगाउने काम हो,’ उनले भने, ‘यद्यपि हामी पार्टीको कार्यकारी भूमिकामा छैनौँ । पार्टीको कमजोरीलाई उठाउँदै अहिले रुपान्तरणको अभियान चलिरहेको छ । उहाँहरुले फेसबुकमा स्टाटस् मात्र लेखेर उम्किन मिल्दैन । उहाँहरुले असन्तुष्टि जारी गरिसकेपछि र पार्टी सुधारको अभियानमा लाग्ने हो भने विशेष महाधिवेशन बोलाउनैपर्छ ।’साथै उनले पार्टी रुपान्तरणको अभियानमा कुनै गुट–उपगुट भन्दा पनि सबै नेता र कार्यकर्ताहरु अग्रसर हुनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस