सरकारले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, १२ : ०७
सरकारले भुटानी शरणार्थी प्रकरणको सत्य तथ्य बाहिर ल्याउनुपर्छ: अनिता देवकोटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन् । मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा उनले यस्तो माग गरेकी हुन् । उनले जनताले वास्तविकता र सत्य तथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताइन् । उनले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको बताइन् । 

 

देवकोटाले  भनिन्, ‘नक्कली भूटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्छ । जनता वास्तविकता र सत्य तथ्य बुझ्न चाहिरहेका छन् । अपराधलाई संरक्षण गर्नु हुँदैन । यो मुद्दाले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्य तथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु ।’यसैगरी राष्ट्रिय सभा सदस्य दीपा गुरुङले क्यान्टनमेण्ट काण्डबारे छानबिन गर्न माग गरिन् । उनले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गरिन् । 

 

त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न माग गरे । उनले भ्रष्टाचारविरुद्ध कडा एक्सन सुरु गर्न पनि आग्रह गरे । यसैगरी राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरुलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गरे ।उनले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस