नेपालको सहभागिता रहने एसिया कप पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना

सफल खबर संवाददाता

मंगलबार, २६ बैशाख २०८०, ११ : ०३
नेपालको सहभागिता रहने एसिया कप पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना

काठमाडौँ। पाकिस्तानले आयोजना गर्ने भनेको एसीसी एसिया कप श्रीलंकाले आयोजना गर्ने सम्भावना बलियो बनेको छ । भारतीय सञ्चार माध्यम द इन्डियन एक्सप्रेसले जनाएअनुसार एसिया कप पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना बलियो बनेको हो ।भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का सचिव जय शाहले भारतीय टिमले पाकिस्तानको भ्रमण नगर्ने बताएसँगै एसिया कप पाकिस्तानमा नहुने सम्भावना बढ्दै गएको थियो । मे महिनाको अन्त्यतिर नै एसिया कप आयोजक देशको टुंगो लाग्ने द इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले पनि भारतकै पक्षमा रहेर एसिया कप पाकिस्तानबाट अन्य देशमा सार्नुपर्ने अडानमा रहेका छन् ।अर्कोतर्फ भने पाकिस्तानले आफ्नै भुमिमा एसिया कप आयोजनाका लागि प्रयासरत छ । तर बीसीसीआईले एसीसीका सदस्यहरुको साथ पाएका कारण पाकिस्तानको प्रयास केवल औपचारिकतामा मात्र सिमित हुने देखिन्छ ।पाकिस्तानले भारतको खेल दुबईमा आयोजना गर्न सकिने प्रस्ताव समेत अघि सारेको थियो ।

यदि पाकिस्तानमा एसिया कप आयोजना नभए पाकिस्तान क्रिकेट बोर्डले भने एसिया कपमा सहभागिता नजाउने चेतावनी दिएको छ । यसका साथै पाकिस्तानले यसै वर्ष आयोजना हुने ओडिआई विश्वकप पनि खेल्ने वा नखेल्ने भन्ने प्रश्न उब्जिन सक्छ ।सेप्टेम्बर २ देखि १७ तारिखसम्म आयोजना हुने भनिएको एसिया कपमा भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश र नेपालको सहभागिता हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस