पाँच स्रष्टालाई बीडी त्यागी स्मृति पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १० : ५७
पाँच स्रष्टालाई बीडी त्यागी स्मृति पुरस्कार

काठमाडौँ । बीडी त्यागी स्मृति केन्द्रले बीडी त्यागी स्मृतिसम्बन्धी विभिन्न पुरस्कार पाँच स्रष्टालाई प्रदान गरेको छ । बीडी त्यागीको २०औँ स्मृति दिवसका अवसरमा वैशाख १८ गते रामहिटी, काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार रामप्रसाद ज्ञवालीले उक्त सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् । केन्द्रले यस वर्षको बीडी त्यागी स्मृति सम्मान साहित्यकार राधेश्याम लेकालीलाई प्रदान गरेको छ । 

यसैगरी केन्द्रले बीडी त्यागी स्मृति पुरस्कार साहित्यकार रामचन्द्र दाहाललाई, बीडी त्यागी योगदान सम्मान प्रकाशक तथा साहित्यकार रामदेव पाण्डेलाई, बीडी त्यागी प्रतिभा सम्मान साहित्यकार सरू पोखरेललाई र गैरसाहित्यिक व्यक्तित्वलाई दिइने नेपथ्य सम्मान बूढानीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष शम्भु भट्टराईलाई प्रदान गरिएको छ । 

प्रतिभा चयन समितिका संयोजक तथा उपन्यास समाज नेपालका अध्यक्ष वरिष्ठ आख्यानकार शङ्कर भारतीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा सम्मानित साहित्यकार राधेश्याम लेकाली, प्रकाशक तथा साहित्यकार रामदेव पाण्डे, साहित्यकार सरू पोखरेल र वडाध्यक्ष शम्भु भट्टराईले आआफ्नो मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस