श्रमजीवि वर्गको हितमा काम गर्न प्रहरी प्रशासनलाई गृहमन्त्री श्रेष्ठकाे निर्देशन

सफल खबर संवाददाता

शनिबार, १६ बैशाख २०८०, १६ : ४१
श्रमजीवि वर्गको हितमा काम गर्न प्रहरी प्रशासनलाई गृहमन्त्री श्रेष्ठकाे निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी प्रशासनलाई गरिब, दुःखी र श्रमजीवि वर्गको हितमा काम गर्न निर्देशन दिएका छन । सर्लाहीको बागमती नगरपालिका ११ मा निर्मित नमूना प्रहरी बस्तीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले प्रहरी प्रशासनलाई गरिब, दुःखी, श्रमिक, किसान, दलित, जनजाति, महिला र पिछडिएको क्षेत्रका नागरिकको हितमा काम गर्न निर्देशन दिए।

उनले न्यायको लागि जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमा पुगेका कुनै पनि निमुखा नागरिक न्यायबाट बञ्चित भए सिकायत गर्न पनि आग्रह गरे । मन्त्री श्रेष्ठले मिटरव्याज पीडितलाई न्याय दिलाउन गृह मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता पनि व्यक्त गरे।

मिटर व्याज पीडितलाई न्याय दिलाउन जनकपुरमा मधेश प्रदेश स्तरीय मिटर व्याज जाँचबुझ कार्यालयको उद्घाटन गर्न लागिएको उनले बताए । गृहमन्त्री श्रेष्ठले मधेश प्रदेशमा क्रियाशील प्रहरी प्रमुखहरुसँग जनकपुर छलफल र अन्तक्रिया गरिने पनि बताए ।

मिटरव्याजीको पक्षमा आफ्नो पार्टी माओवादी केन्द्रका कुनै पनि नेता कार्यकर्ता लागेको पाइए जतिसुकै ठूलो र पहुँचवाला नेता भएपनि कारबाही गरिने चेतावनी गृहमन्त्री श्रेष्ठले दिए ।

मन्त्री श्रेष्ठले सर्लाही जिल्ला मिटरव्याजी विरोधी आन्दोलनको अगुवा जिल्ला भएको बताए।

प्रतिक्रिया दिनुहोस