कात्तिक महिनाभित्र कांग्रेस–एमालेको सरकार बन्छ : हृदयेश त्रिपाठी

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १३ : १३
कात्तिक महिनाभित्र कांग्रेस–एमालेको सरकार बन्छ : हृदयेश त्रिपाठी

परासी । जनता प्रगतिशिल पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले कात्तिक महिनाभित्र कांग्रेस–एमालेको सरकार बन्ने दाबी गरेका छन । गृह जिल्ला नवलपरासीमा रहेका त्रिपाठीले शुक्रबार जिल्लाका पत्रकारहरुसँगको कुराकानीमा वर्तमान गठबन्धन सरकार लामो समय नटिक्ने बताउँदैकात्तिक महिनाभित्र कांग्रेस र एमालेको नयाँ सरकार बन्ने दाबी गरे।

संविधानका केही प्रावधान फेरबदल गर्ने सोंचमा कांग्रेस र एमाले रहेको उनले बताए । ‘कांग्रेस र एमालेका वर्तमान नेतृत्व संविधानका कतिपय विषयमा असन्तुष्ट रहेकाले त्यसलाई फेरबदल गर्नका लागि ती दुई पार्टी मिलेर सरकार बनाउँछन् । त्यो कात्तिक महिनाभित्रै हुन्छ ।’ उनले दाबी गरे।

यी दुई ठूला पार्टी मिलेर सरकार बनाए पनि देशमा राजनीतिक स्थिरता भने नरहने उनले ठोकुवा गरे ।  मुलकको अर्थतन्त्र धरासायी हुँदै गएपनि वर्तमान सरकार गम्भिर नभएको उनको आरोप छ । ‘अर्थमन्त्रीले मुलकको वर्तमान आर्थिक अवस्थाका विषयमा श्वेतपत्र जारी गर्न खोजेपनि प्रधानमन्त्रीले रोकेका छन् ।’ उनले भने ।

रवि लामिछाने नेतृत्वको रास्वपाको स्पष्ट एजेण्डा नभएपनि उपचुनावको नतिजालाई दलहरु प्रति जनताले देखाएको वितृष्णाका रुपमा बुझ्न सकिने त्रिपाठीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस