लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदै

सफल खबर संवाददाता

सोमबार, ११ बैशाख २०८०, १० : ३६
लुम्बिनी प्रदेश: मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सोमबार पुनः विश्वासको मत लिन लागेका छन्। नेकपा माओवादी केन्द्र लगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन्।

सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चितजस्तै छ। सत्ता साझेदार दलहरूले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो।

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ।

एमाले संसदीय दलको बैठकमा संसदमा विश्वासको मत लिने र संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनको लागी पहल लिने बारेमा समेत छलफल गरेको छ।

लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन्। ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ ।

मुख्यमन्त्रीको पक्षमा ३३ मत मात्रै देखिन्छ। जसले गर्दा संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढल्ने निश्चित छ। त्यसपछि संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा सरकार बनाउने दाउँमा एमाले छ।

तर अन्य राजनीतिक दलहरूले भने संविधानको धारा १६८ को २ बमोजिम नै सरकार बनाउनेगरी गृहकार्य थालेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधाको धारा १६८ को २ या १६८ को ३ बमोजिम सरकार गठनको लागी आह्वान गर्ने हुन, यस बारेमा भने केही खुलाइएको छैन।

प्रदेशसभाको बैठक बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। मुख्यमन्त्री गिरीले गत माघको ५ गते विश्वासको मत लिएका थिए। गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस