पुटिन-ट्रम्प : विवादका बीच दोस्रो वार्ताको निम्तो

एजेन्सी

शनिबार, ०५ साउन २०७५, १० : ५६
पुटिन-ट्रम्प : विवादका बीच दोस्रो वार्ताको निम्तो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो भेटका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तयार रहेको अमेरिकाका निम्ति रुसी राजदूतले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले पुटिनलाई ह्वाइट हाउसमा निम्तो गरेको समाचार आएपछि उनले सो टिप्पणी गरेका हुन् । यसै साता हेल्सिन्कीमा दुई नेताबीच भएको पहिलो शिखरवार्ता अमेरिकामा निकै विवादित बनेको छ ।

प्रतिक्रिया
रुसी राजदूत अनातोली एन्तोनोभले औपचारिक निम्तो दिइसकेको हो कि होइन भनी पुष्टि गर्न भने सकेनन् ।  उनले पुटिनलाई बोलाएको भन्ने खबर सुनेर अमेरिकी गुप्तचर निकायका प्रमुखले अचम्म मान्दै हाँसो प्रकट गरेका थिए । एक अन्तर्वार्ताका बेला उक्त निम्तोको खबर सुनाइएपछि नेश्नल इन्टेलिजेन्सका निर्देशक ड्यान कोट्सले त्यस्तो  प्रतिक्रिया दिएका हुन् ।

वास्तवमा राष्ट्रपति ट्रम्प र पुटिनबीच भएको पहिलो शिखरवार्ताको विवाद अझै सेलाइसकेको छैन । विपक्षी डेमोक्र्याट्स दलले दुई नेताबीच अब कुनैपनि एक्लाएक्लै वार्ता गरिन नहुने बताएको छ । एक विज्ञप्तिमार्फत् डेमोक्र्याट सिनेटर चक सुमरले हेलसिन्कीको दुईघण्टे वार्तामा के भएको हो भन्ने प्रस्ट नभएसम्म ट्रम्पले पुटिनसँग कहीँ पनि वार्ता गर्न नहुने जनाएका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला रुसले हस्तक्षेप गरेको भन्ने आक्षेपका कारण विवादग्रस्त बन्दै आएको छ । मस्कोले ती आक्षेप अस्वीकार गर्दै आएको छ ।

असहज
वाशिङ्टनस्थित बीबीसी सम्वाददाता एन्थोनी जर्कर भन्छन् - विवादका माझ पुटिनलाई निम्तो दिनका निम्ति राष्ट्रपति ट्रम्पलाई सम्भवत: पछिल्ला मत सर्वेक्षणले उत्साहित पारेको हुनसक्छ । ती सर्वेक्षणमा सर्वसाधारण अमेरिकीलाई ट्रम्पको रुस नीतिले असहज तुल्याए पनि उनको आधार क्षेत्र मानिने रिपब्लिकन मतदाताहरूमाझ त्यसले खासै असर नपारेको देखिन्छ ।

ट्रम्पले निर्वाचनका बेला रुससँग निकट सम्बन्धको वकालत गरेका थिए । पहिलो वर्षमा उक्त नीति अङ्गीकार नसके पनि अब उनले त्यतातिर उनले ध्यान दिन लागेको देखिन्छ । सन् २००० देखि रुसको सत्तामा रहँदै आएका पुटिनले पछिल्लो पटक सन् २०१५ मा अमेरिकाको भ्रमण गरेका थिए । राष्ट्रसङ्घको महासभामा भाग लिन त्यहाँ पुगेको बेला उनले तत्कालीन अमेरिकी राष्ट्रपति बराक ओबामासँग भेटेका थिए । -बीबीसी

 

प्रतिक्रिया दिनुहोस