एजेन्सी । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको बहुचर्चित नयाँ अन्तरिक्ष यान स्टारशिप विस्फोट भएको छ । अहिलेसम्मको सबैभन्दा शक्तिशाली भनिएको स्टारशिप रकेट टेक्ससको पूर्वी तटमा रहेको परीक्षण केन्द्रबाट उडेको केही मिनेटमै आकाशमै विस्फोट भएको हो ।
सामाजिक सञ्जाल ट्विटरका मालिक समेत रहेको मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको अन्तरिक्ष यान परीक्षणको ४ मिनेटभित्रै विस्फोट भएको हो ।स्थानीय समयअनुसार बिहीबार बिहान अमेरिकाको दक्षिणी टेक्ससस्थित पूर्वी तटीय क्षेत्रबाट उक्त अन्तरिक्ष विमान प्रक्षेपण गरिएको थियो । तर प्रक्षेपणको ४ मिनेटभित्रै यसको भीमकाय रकेट विस्फोट भएको थियो ।
यो यान अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमा, मंगल ग्रह र अरु यस्तै प्रकारका लामो अन्तरिक्ष अभियानमा लैजाने उद्देश्यले बनाइएको थियो ।एलन मस्कको यो महात्त्वाकाक्षी परियोजना थियो । मानवरहित अन्तरिक्ष यान भएकाले यसबाट कुनै मानवीय क्षति भने हुन पाएन ।
मस्कले ट्विट गर्दै केही महिनाभित्रै अर्को प्रयास गर्ने जानकारी दिएका छन् । रोमाञ्चक पहिलो परीक्षण प्रक्षेपणका लागि स्पेस एक्स टिमलाई बधाई भन्दै मस्कले अर्को प्रक्षेपणका लागि थुप्रै कुरा सिकिएको बताएका छन् ।
स्पेस एक्स अन्तरिक्ष यान करिब ३९ किलोमिटरको उँचाइसम्म पुगेर विस्फोट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०८ बैशाख २०८०, ११ : २२
लेखकबाट थप